तुलसीपुर, पुस २२ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्न फागुन १ गते निर्वाचन घोषणा गरिएको छ । त्यसका लागि माघ २४ गते संघको साधारण सभा गर्ने निर्णय भएको संघका अध्यक्ष बिरबहादुर रावत (बिरु)ले फरककोणलाई बताए ।
मंगलवार बसेको संघको बोर्ड बैठक र पूर्व पदाधिकारीको बैठकले संघको नयाँ नेतृत्व चुन्नका लागि निर्वाचनको घोषणा गरेको हो ।
निर्वाचन घोषणा भएसंगै मंगलवारदेखि नै सदस्यता वितरण बन्द गरिएको अध्यक्ष रावतले बताए । अध्यक्ष रावतले आफु आगामी कार्यकालको लागि आकाँक्षी नहुने र बरु राम्रो नेतृत्व चयनमा सघाउने जानकारी दिए ।
स्रोतका अनुसार नयाँ नेतृत्वको लागि झन्डै ८ जनाबढी आकांक्षी देखिएका छन् । नेपाली काँग्रेस समर्थित प्रजातान्त्रिक समुहबाट उपाध्यक्ष ललिजजंग शाह, अनुपकुमार श्रेष्ठ, जनक खराल र पूर्ण धिताल आकाँक्षी रहेका छन् ।
त्यस्तै नेकपा समर्थित प्रर्गतिसिल प्यानलबाट संघका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसे, महासचिव रुपबहादुर खत्री, मिनराज भण्डारी र खगेन्द्र पोखरेल आकाँक्षी रहेका छन् ।
सकरभर राजनीतिक दलका नेता र बाणिज्य संघका पूर्व अध्यक्षहरु संग छलफल गरि सर्वसहमतिमा नेतृत्व चुन्न कसरत हुने संघका सचिव विनिल केसीले जानकारी दिए ।्
‘चुनावमा भिड्दा तिक्तता बढ्छ र त्यसले फूटको वातावरण सृजना गर्छ,’ सचिव केसीले भने ‘ सकभर व्यापारीका बीचमा चर्कौ राजनीति नघुशोस र सौहार्दपूर्ण वातावरणमा नयाँ नेतृत्व चुन्न वातावरण बनोस भन्ने हाम्रो ध्यान हुने छ ।’
निर्वाचनबाट आउने नेतृत्व शक्तिसहित आउने भएपनि त्यसले पक्ष र विपक्ष निर्माण गर्ने हुँदा कामगर्दा मनमुनाट सृजना हुने हुँदा सकभर सर्वसहमतिको प्रयास हुने सचिव केसीले बताए ।
‘त्यसका लागि संघका पूर्व अध्यक्षज्यूहरुको राय सुझाव सबै भन्दा महत्वपूर्ण रहने छ,’ उनले भने ‘ यदी सहमतिको वातावरण बन्न सकेन भने लोकतान्त्रिक विधिवाट नेतृत्व चयन हुनेछ ।’