घोराही, पुस २० । दाङ जिल्ला उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि दुई पदमा भएको मतदानमा ५६ प्रतिशत मत खसेको छ ।सोमबार विहान आठ बजेदेखि भएको मतदानमा ५६ दशमलव १० प्रतिशत मतदाताले भाग लिएको निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिए ।
कुल ४ हजार ३ सय ३८ मतदाता रहेको संघमा २ हजार ४ सय ३४ मत खसेको उनले बताए । कुल २१ सदस्यीय रहने नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पदबाहेक सबै पदमा सर्वसहमतिमा पदाधिकारी निर्विरोध चयन भइसकेको छ । तर, अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।
अध्यक्षमा वर्तमान उपाध्यक्षहरु टंकसिंह बुढाथोकी र बशन्त जोशी तथा कोषाध्यक्ष पदमा वर्तमान कोषाध्यक्ष सुशील पोख्रेल र सदस्य धनपति शर्मा चुनावी प्रतिपर्धामा छन् । बुढाथोकी र पोख्रेलललाई सबै दलको साथ छ भने जोशी र शर्मा स्वतन्त्र उम्मेदवार हुन ।
निर्वाचक मण्डलले यस अघि सोमबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको भएपनि मतदाताको उत्साहजनक सहभागिता भएपछि बेलुकी साढे ६ बजेसम्म समय थप गरिएको थियो ।
सोमबार बेलुकीबाट नै मत गणना गरिने निर्वाचन अधिकृत घिमिरे जानकारी दिए । मतगणना आचार संहिता बनाएर मतगणनाको तयारी भएको उनले बताए । मतदान गणना उद्योग वाणिज्य संघमा हुने भएको छ । मतदान पनि त्यही भएको हो ।
उनका अनुसार २ पदका लागि मात्रै मतदान भएकाले मंगलबार बिहान ८ बजेसम्ममा अन्तिम परिणाम आउने अनुमान गरिएको छ ।