काठमाडौं, पुस २० । नेकपाको प्रचण्ड–नेपाल समुहको बैठकले लुम्बिनी प्रदेश इञ्चार्जमा युवराज ज्ञवाली र गण्डकीमा देवेन्द्र पौडेललाई प्रदेश इन्चार्ज तोकेको छ ।
सोमवार पार्टी कार्यालय पेरिसडाँडामा माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्जबाट शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङलाई हटाउँदै ज्ञवाली र पौडेललाई इन्चार्ज बनाएको हो ।
ओली समुहलेपनि यसअघि प्रचण्ड–नेपाल समुहका प्रदेश इन्चार्जहरुलाई हटाएर आफ्नै समुहका नेताहरुलाई इन्चार्ज बनाइसकेको छ ।
बैठकले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम विरुद्ध घोषणा गरिएको दोस्रो चरणको देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको छ। प्रतिगमन विरुद्धको आन्दोलन र संगठनको कामलाई सँगसँगै अगाडि बढाउने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्ड–नेपाल पक्षले आन्दोलनका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा रहेको आन्दोलन परिचालन समितिलाई विस्तार गरेको छ । जसको सहसंयोकहरुमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई तोकिएको छ ।
त्यस्तै पार्टी एकिकरणको कामलाई पुरा गर्न अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा रहेको कार्यदललाई विस्तार गर्दै कार्यदलमा भिम रावल, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, अस्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत,बेदुराम भुसाल, मातृका यादव र लिलामणी पोखरेललाई कार्यदलको सदस्यमा थप गरिएको छ ।
कार्यदलले एकताका बाँकी काम पुरा गर्ने बिधिको बिषयमा ७ दिन भित्र पार्टीलाई सुझाव प्रस्तुत गर्न आग्रह गरेको छ ।