दाङ, पुस १८ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपिएफ र प्रदेश १ फाइनल भिड्ने भएका छन् । शनिबार भएको दोस्रो सेमिफाइनल खेल अन्तरगत पहिलो खेलमा एपिएफले सुदरपश्चिम र दोस्रो खेलमा प्रदेश १ ले घरेलु टोली लुम्बिनी प्रदेश पराजित गर्दै फाइनलमा भेट्ने निश्चय गरेका हुन । उपाधिका लागि आइतबार बिहान ११ बजे प्रदेश १ ले विभागीय टोली एपीएफको सामना गर्ने भएको छ ।
शनिवारको दोस्रो खेलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ प्रतियोगिताको फाइनल पुगेको हो ।खेलमा लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको विजयी लक्ष्यलाई प्रदेश १ ले ८।५ ओभरमा विना विकेट गुमाएर पूरा गरेको हो । जस अन्तर्गत टिमका लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रनको योगदान गरिन । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हुँदै ५२ रनमा सिमित हुन पुगेको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाइन । उनी बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले १ चौका समेत प्रहार गरेकी थिइन । बलिङतर्फ प्रदेश १ की संगिता राई र निग्मा तामाङले २–२ विकेट हात पारे । कप्तान रुविना क्षेत्रीले १ विकेट लिइन ।
त्यसअघि शनिवार विहानको पहिलो खेलमा सुदूर पश्चिम प्रदेशलाई विभागीय टोली एपीएफले शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो ।
फाइनल पुग्ने क्रममा सुदूर पश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।टिमलाई जित दिलाउ ओपनर ब्याटर ज्योती पाण्डेले अविजित रहदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहदै १९ रन बनाइन ।
त्यसअघि ४.४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमा क्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् ।
खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो ।
टिमका लागि उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन् ।
त्यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन् । त्यस्तै कप्तान सिता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । उपविजेता टोलीले ३ लाख प्राप्त गर्ने छ । त्यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्ने भएका छन । त्यस्तै विधागततर्फ सर्वौउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार , उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन ।