२०८१ असोज ५ गते शनिवार

ओलीले लोकतन्त्रमाथि धावा बोले : युवराज ज्ञवाली


घोराही, पुस १४ । नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केपी शर्मा ओलीले लोकतन्त्रमाथि धावा बोलेको बताएका छन् ।नेकपा प्रचण्ड– नेपाल समुहले मंगलवगार घोराहीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले ओलीले संसद् विघटन गरेर लोकतन्त्रमाथि ठूलो धावा बोलेको बताएका हुन ।

‘लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेको छ । यो गणतन्त्रमाथि धावा हो’, ज्ञवालीले भने–‘ संविधानमाथि ओली सरकारको ‘कु’ले लोकतन्त्रसंगै कम्युनिष्ट आन्दोलन नै खतरामा पार्ने काम गरेको छ ।’ ओलीलाई संघीय गणतन्त्रिक व्यवस्थाले प्रधानमन्त्री बनाइए पनि ओली निरकुंश शासक बनेर गणतन्त्रको विरोधमा उत्रिएको उनले आरोप लगाए ।

उनले संसद पुनःस्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढाउने भन्दै त्यसका लागि सहकार्य गर्न लोकतन्त्रवादी पक्षधरलाई समेत आग्रह गरे । ओलीको प्रतिगामी कदमविरुद्ध एक्ला–एक्लै सडक आन्दोलन गर्नुभन्दा नेपाली कांग्रेस, संघीय समाजवादी दल, नागरिक समाजलगायतका सबैले संयुक्त रुपमा आन्दोलन छेड्नु पर्ने उनको भनाई छ ।

‘अबको लडाई सर्वसत्तावादी र स्वच्छेचारी प्रवृतिका विरुद्धको लडाइँ हो’, उनले भने ‘त्यो लडाईका लागि लोकतन्त्रवादीहरुका बीचमा सहकार्य आवश्यक छ।’

नेता ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनका लागि सर्वोच्च अदालतले उचित निर्णय लिने र अन्य निकायहरुले विधि र विधानलाई मान्ने आशा व्यक्त गरे । ‘कोही कराउँदैमा पार्टी आफ्नो हँुदैन, पार्टीको आफ्नै विधान र पद्धति रहेको छ’, नेता ज्ञवालीले भने– ‘अहिले संसद विघटन गर्नुपर्ने अवस्था छ कि नाई भनेर फैसल्ला गर्ने र पार्टीको विधि र विधानका आधारमा निर्वाचन आयोगले कुन आधिकारिक पक्ष हो भन्ने टुंगो लगाउनेछ ।’

त्यस्तै केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज जीवन गौतमले अहिलेको लडाइँ नेतृत्वका लागि नभएर हजारौ जनताको त्याग र बलिदानीबाट प्राप्त व्यवस्थाको रक्षाका लागि भएको बताए ।

अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले संसद विघटन गरेर केपी ओलीको सरकारले संविधानमाथि बलात्कार गर्ने काम गरेको बताए । पाँच बर्षसम्म सरकार चलाउने जनताले दिएको अधिकारलाई कुल्चिएर ओलीले ‘कु’ गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दामा शर्मा, नेकपाका प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्य, नेकपा दाङका नेता तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तलगायतले मनतब्य व्यक्त गरेका थिए ।नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *