तुलसीपुर,पुस १२ । नेकपा भित्रको प्रचण्ड–नेपाल समुहले नेकपा ओली समुहले घोराहीस्थित जिल्ला पार्टी कार्यालय तोडफोड गरेको भन्दै खेद व्यक्त गरेको छ ।जिल्ला पार्टी कार्यालय सदस्य सुरामणि बेलबासेका अनुसार आइतबार बिहान बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको समुहका मानिसहरुले पार्टी कार्याय तोडफोड गरेको भन्दै खेद व्यक्त गरेको जानकारी दिए ।
उनले ओली समुहले मुलगेट र भित्रको बैठक कक्षको ताला समेत फोडेर सामाग्रीहरु लथालिंग पारेको उनले आरोप लगाए । ‘पार्टी कार्यालयमा मनपरी प्रवेश गर्ने र तोडफोड गर्ने कार्य हुकुमबहादुर बस्नेतको नेतृत्वमा भएको छ,’ उनले भने ‘ अराजक गतिविधि गर्ने र गर्न लाउनेहरुलाई कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
त्यसका साथै बैठकले ओली समुहमा लाग्नेहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । एक पटक संझाउने र संझाउँदापनि नमान्नेलाई अर्कौ बैठकदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही थाल्ने निर्णयपनि बैठकले गरेको बेलबासेले जानकारी दिए ।
‘ओली गुटले धेरैलाई भ्रममा पारेर झुक्याएर बोलाई जिल्ला कमिटीको बैठक हो भनेर जिल्ला कमिटीमा राखेको भन्ने हामीले बुझेका छौं,’ बेलबासेले भने ‘ ती साथीहरुलाई एक पटक हामी संझाउँछौं र त्यतिगर्दापनि भएन भने साधारण सदस्य समेतबाट निस्कासित गर्छौं।’आइतबार बिहान नै पार्टी कार्यालयमा बसेको ओली समुहको बैठकले ३ सय जना जिल्ला कमिटी सदस्य थप गरेको हुकुमबहादुर बस्नेतले जानकारी दिएका थिए ।
विहानको बैठक बस्नेतकै अध्यक्षतामा बसेको थियो । बिहान बसेको ओली समुहको बैठकमा प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, तुलसीपुरका मेयर घनश्याम पाण्डे, घोराहीका मेयर नरुलाल चौधरी, युवा नेता मनोहर बुढाथोकी लगाएतले सम्वोधन गरेका थिए ।
ओली समुहले जिल्ला कमिटी बिस्तार गरेको बारेमा बुझ्न खोज्दा बेलबासेले रातारात गरिने कमिटी बिस्तारको कुनै तुक नरहेको बताए । ‘हामीले चाहेमा ५ हजार जिल्ला कमिटी बनाउन सक्छौं,’ बेलबासेले भने ‘ त्यसरी केही दिनलाई टिके बन्नुको के तुक रहन्छ ।’
उनले ७ सदस्य जिल्ला कार्यालय सदस्य मध्य हुकुमबहादुर बस्नेत मात्रै एक्लै ओली समुहमा रहेको र अन्य सबै ६ जना प्रचण्ड ओली समुहमा रहेको दाबी गरे । १५४ सदस्य जिल्ला कमिटी सदस्य मध्य ११९ जना किमिटी सदस्यहरु प्रचण्ड– नेपाल समुहमा रहेको दाबी बेलबासेले गरे । उनले आफ्नो पक्षमा अत्याधिक बहुमत रहेको बताए ।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बसेको सोमबार पनि बैठक बस्ने निर्णय गरेको छ । बैठकले अन्य दलहरु संग मिलेर संयुक्त संघर्ष समिति बनाएर ओलीको असंबैधानिक कदमका विरुद्ध सशक्त संघर्ष गर्ने, पुस १४ गते जिल्लामा बृहत प्रदशन र विरोध सभा गर्ने, जिल्लाका वडा तहसम्म पनि विरोध सभा गर्ने निर्णय गरेको बेलबासेले जानकारी दिए ।
अन्तराष्ट्रिय डिजाईनमा ओलीले प्रतिनिधिसभा भंग गरे – पूर्व सभामुख महरा
पूर्व सभामुख कष्णबहादुर महराले बिदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको अरोप लगाएका छन् । सोमबार नेकपा प्रचण्ड– नेपाल सहुमको जिल्ला पार्टी कार्यालय घोराहीमा बसेको बैठकलाई सम्वोधन गर्दै स्थायी कमिटी सदस्य महराले राष्ट्रिय –अन्तराष्ट्रिय डिजाईनमा प्रधानमन्त्री ओलीले असंबैधाकिन रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका हुन ।
बैठकमा सहभागि एक नेताका अनुसार ओलीको कदमले देशलाई थप प्रतिगमण तर्फ लैजाने हुँदा त्यसको सबैले खुलेरै विरोध गर्नुपर्नेमा महराले जोड दिएका थिए ।
ओली गणतन्त्र पक्षधर हैनन् – ज्ञवाली
कार्यक्रमलाई सम्वोधन गर्दै अर्का स्थायी कमिटी सदस्य युबराज ज्ञवालीले सुरुदेखि नै प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्रका पक्षधर नभएपनि गलत तरिकाले पार्टीको नेतृत्व हुँदै देशको नेतृत्वमा पुग्दा समस्या उत्पन्न भएको बताए । ‘ओलीमा पदलोलुपता बाहेक केही छैन,’ ज्ञवालीले भने ‘ त्यसका लागि उहाँले संघीयता र गणतन्त्र समेत मास्न तयार भए आश्चर्य मान्नु पर्दैन।’
उक्त बैठकलाई पूर्व मन्त्री रेखा शर्मा, नेता भागबत विश्वासी लगाएतले सम्वोधन गरेका थिए ।