२०८१ असोज ५ गते शनिवार

नेकपा फुटाउन बाह्य शक्ति लागेको छ : पूर्व सभामुख महरा


घोराही, पुस ६ । नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बाह्य शक्तिका कारण पार्टीमा संकट देखा परेको बताएका छन् ।नेकपा दाङले नेकपा दाङका संस्थापक नेता स्वर्गिय माणिकलाल गौतमको सम्झनामा आयोजना गरेको श्रद्धाजलीसभालाई सम्बोधन गर्दै महराले पार्टीमा देखापरेको ठूलो संकट अदृष्य शक्तिका कारणले गर्दा भएको दाबी गरे ।

उनले भने– ‘यसको पछाडि पार्टी नेतृत्वको मात्र कमजोरी नभएर अदृश्य शक्तिको पनि ठूलो भूमिका छ ।’ त्यो अदृष्य शक्तिको बारेमा भने उनले खुलाएनन् । ‘ नेकपा पार्टी एकता नै त्यो शक्तिलाई मन नपरेको सत्य हो,’ उनले भने ‘त्यो अदृश्य शक्तिले देशमा स्थिरता चाहाँदैन ।’

त्यही कारण अहिले नेकपामा यो अवस्था आएको उनले बताए । तर, उनले अझै पनि पार्टी एकताको सम्भावना जिवितै रहेको बताए । एकता कायम राख्न सबै लाग्नुको विकल्प नरहेको उनको भनाई छ । महराले पार्टी एकताको लागि दुवै पक्षका नेताहरुसंग छलफल भइरहेको जानकारी दिए ।

‘पार्टी अध्यक्ष प्रचण्ड र अर्को पक्षका नेताहरुसंग मेरो कुरा भइराखेको छ’, उनले भने– ‘पार्टी एकताका आधारहरु अझै समाप्त भएका छैनन्।’ उनले पार्टी निर्माणमा स्व. गौतमको भूमिका महत्वपूर्ण भएको सम्झना गरे । ‘पार्टी निर्माण उहाँको योगदान महत्वपूर्ण छ’, पूर्व सभामुख महराले भने– ‘पार्टीले असल अभिभावक गुमाएको छ ।’

नेकपा दाङका सचिव सुवास पुनको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा नेकपा केन्द्रीय सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्य तथा घोराही उपममहानगरपालिका प्रमुख नरुलाल चौधरी, लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, नेता छविलाल वली, शुष्मा शर्मा घिमिरे र बासुदेव गौतमलगायतले स्व गौतमको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेकपा दाङका नेता सुरामणि बेल्वासेले गरेका थिए ।नेकपा दाङले नेकपाका संस्थापक माणिकलाल गौतमको सम्झनामा श्रद्धाजलीसभा सम्पन्न गरेको छ । कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *