
काठमाडौं, पुस ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसंगको भेटमा अर्थमन्त्री पौडेलले शुक्रवार कोभिड– १९ को लक्षण देखिएका नेपालीको निशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए ।
‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भने –‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसंग कुटनीतिक संवाद जारी राखेका छौं ।’उनले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए ।
अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिइने बताए । त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाई छ ।
त्यस्तै पौडेलले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागि परेको दाबीपनि गरे । अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्ने उनले बताए ।