काठमाडौं, पुस २ । महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरू गरेको छ।
यस क्रममा प्रहरीले तीन जना ऋणीलाई पक्राउ गरेको सिआइबीले जनाएको छ।
ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
उनका अनुसार कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
‘थोरै सुन धितो राखेर सात करोडभन्दा बढी रकम प्रवाह भएको छ। ऋणीहरू राखेर रकम निकालिएको छ,’ उनले भने।
अनियमितता प्रकरणमा जोडिएका एक दर्जन जनाविरूद्ध जाहेरी रहेको उनले बताए।
उक्त प्रकरणको अनुसन्धानका लागि राष्ट्र बैंकले सिआइबीलाई चिठी लेखेको थियो। पाण्डेका अनुसार यो प्रकरणका मुख्य व्यक्ति पक्राउ परिसकेका छैनन्।
ऋण प्रकरणबारे अनुसन्धान गर्न बैंकका सिइओसम्मलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको छ।