काठमाडौं, मंसिर २४ । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहले लिएको छ । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक श्रेष्ठले ‘सुराकी’ गरेको हुँदा हत्या गर्नु परेको बिप्लव समुहका मेची–कोसी ब्युरोका इञ्चार्ज प्रतापले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
मंगलबार बेलुका उनले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ ।
स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५२ बर्षीय श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
बिज्ञप्तिमा सम्झाउन खोज्दा श्रेष्ठ हतियार लिएर आक्रमण गर्न आइलागेको दाबीपनि गरेको छ। तर, जिल्ला प्रहरी कार्यालय मोरङले भने श्रेष्ठलाई बिप्लवका कार्यकर्ताले घरबाटै हात बाँधेर लगेको जानकारी दिएको छ ।