२०८१ भाद्र २८ गते शुक्रवार

छिल्लीकोटमा दूर्लभ मानिने ‘मालागेडी’को व्यवसायिक खेती प्रति आकर्षण बढ्दो

यमकला भुसाल,तुलसीपुर,मंसिर १९ ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोटका किसानहरुले मालागेडी (सुगन्धकोकिला) को खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । विश्वमै लोपोन्मुख प्रजातिको मानिने मालागेडी त्यहाँका किसानहरुका लागि भने राम्रो आम्दानीको स्रोत बनेको छ ।

मालागेडी फलको खेती हुने एकमात्रै ठाउँ छिल्लीकोट हो । जहाँका किसानहरुले वर्षौ पहिलेदेखि मालागेडीको खेती गर्दै आइरहेका छन ।

स्थानीयवासी किसान भोजराज पुनका अनुसार छिल्लीकोटका १ सय ८ घरपरिवारले व्यवसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन । २÷३ वर्ष अघि डिभिजन बन कार्यालय दाङले बिरुवा उत्पादन गर्ने निशुल्क तालिम दिएको थियो ।

त्यसपछि निशुल्क बिउपनि दिन सुरु गरेपछि मालागेडी तर्फ स्थानीयको आकर्षण बढ्दै गएको छ । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो ।

पछिल्लो समय मालागेडीको व्यवसाय फस्टाउँदै जानुको कारण त्यसलाई पनि मान्ने गरिएको छ । पहिले–पहिले प्रति क्युन्टल ६ हजारमा बिक्रि हुने मालागेडी गतवर्ष भने प्रतिक्युन्टल ३६ हजार रुपैंयामा आफुले बिक्री गरेको पुनले बताए । गतसाल पुनले मालागेडी बेचेर वार्षिक डेढलाख आम्दानी गरेको जानकारी दिए ।

मालागेडी (सुगन्धकोकिला) संरक्षण एवं व्यवस्थापन समिति छिल्लीकोटका संयोजक परवीर पुनले गतवर्ष छिल्लीकोटबासीले १ सय क्युन्टल बढी मालागेडी बिक्रि गरेको जानकारी दिए । मालागेडीको दानाबाट तेल र त्यसको बोक्राबाट मैनबत्ती,औषधि र पफ्र्यूम बनाउन सकिन्छ ।

संयोजक पुनका अनुसार त्यहाँ उत्पादन भएको मालागेडी केही मात्रामा दाङ लगायत नेपालका विभिन्न जिल्लामा बीउका लागि किसानले पठाउने गरेका छन । त्यस्तै केही व्यापारीले पनि सोझै नेपाल बाहिर बिक्रिका लागि पठाउने गरेका छन् ।

पछिल्लो समय छिल्लीकोटबासीले मालागेडीका साथसाथै टिमुर,अदुवाको पनि व्यवसायिक खेती सुरु गरेका छन ।मालागेडी पाकेपछि आफै भुईमा खस्छ । अनि त्यसलाई हातले संकलन गरेर भण्डारण गरिन्छ ।

मालागेडी भन्सार गर्दा प्रतिकिलो ८० देखि ९० रुपैयासम्म भ्याट काट्ने गरेको छ । त्यो भन्सार छुट गरिदिए आफुहरु जस्ता किसानको मेहनतले थप मुल्य पाउने उनको विश्वास छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *