तुलसीपुर,मंसिर १७ । दाङमा १९ जना बालबालिकामा एचआईभी एड्सको संक्रमण फेला परेको छ ।
जिल्लामा १४ वर्ष उमेरसम्मका १९ जना बालबालिकामा संक्रमन फेला परेको छ ।
गर्भ अवस्थामा रहँदा आमा एचआईभी संक्रमित भएको र सुई मार्फत बालबालिकाको संक्रमण दर बढेको अनुमान गरिएको छ ।
एचआईभी र लागु औषधको बारेमा काम गर्दै आएको संस्था परिवर्तन समुह दाङले ३३ औँ विश्व एड्स दिवसका अवसरपारी यस्तो जानकारी सार्वजनिक गरेको हो ।
समुहका कार्यक्रम अधिकृत बिलेन्द्र मल्लका अनुसार लागु पर्दाथ सेवन,असुरक्षित यौन सम्पर्क,खुल्ला सिमाना,बैदेशिक रोजगार र लापरवाहीका कारण एचआईभीको संक्रमण दर सोचे अनुरुप कमी आउन नसकेको तर्क गरे ।
एचआईभी नियन्त्रण गर्न समय–समयमा विभिन्न सचेतना मुलक कार्यक्रम,जनचेतनामुलक सन्देश प्रवाह गरिरहे पनि मानिसहरु अझै एचआईभी एड्स प्रति सम्बेदनशिल बन्न नसकेको उनले बताए ।
त्यस्तै जिल्लामा कात्तिक मसान्त सम्मको तथ्याङ्क अनुसार एचआइभी एड्सका ५ सय ९५ जना संक्रमित फेला परेका छन ।
जसमध्य १ सय ४६ जना पुरुष, १ सय ४५ जना महिला, १९ जना बालबालिका र १ जना तेस्रो लिंगी रहेको जानकारी दिइएको छ ।
१८ वर्ष देखि ५० वर्ष उमेर समुहका व्यक्तिहरुमा संक्रमन फेला परेको छ ।
जिल्लमा हालसम्म एचआईभी एड्सका कारण ४९ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
त्यस मध्य २ सय ३५ जना औषधी खान छोडी सम्पर्क बिहिन अवस्थामा रहेको र ३ सय ११ जना संक्रमितहरुले स्वास्थ्यकर्मीहरुको सरसल्लाह र निगरानीमा औषधि सेवन गर्दै आएको मल्लले बताए ।
आर्थिक वर्ष २०७६÷७७ मा ७ सय ९० जनालाई एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङले देखाएको छ ।
नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित भएको अनुमान गरिन्छ । दैनिक दुईजनालाई एचआईभी संक्रमण हुने गरेको छ ।
बिवरणहरुमा उल्लेख गरिए अनुसार एकजना महिला संक्रमित हुँदा दुईजना पुरुषमा संक्रमण हुने गर्छ ।
एचआइभी एड्सको न्यूनिकरणमा समुदायको भूमिका महत्वपूर्ण हुने मल्लको बुझाई छ । बिरामीको पहिचान, उपचार र संक्रमणको रोकथाममा समुदायको सक्रियता आवश्यक रहेको उनले बताए ।
समयमै उपचार गराएर नियमित औषधि प्रयोग गरेर केही वर्ष आयु लम्ब्याउन सकिन्छ ।
दाङमा विगत केहि वर्षदेखी परिवर्तन समुह, दाङ प्लस, रेडक्रस, मानव स्वास्थ्य संस्था,परिवार नियोजन लगाएतका संस्थाहरुले यो क्षेत्रमा काम गर्दै आइरहेका छन ।