शंकर केसी,सल्यान, मंसिर २२ ।
सल्यानको त्रिवेणी गाउँपालिकाले गर्भवति महिलाई आयोडिन युक्त नुन उपहार दिने गरेको छ । गर्भ जाँच गराउन आउने महिलालाई त्यो उपहार दिने गरिएको छ । त्रिवेणी गाउँपालिकाले गत वर्षदेखि यो अभियान सुरु गरेको थियो । ‘प्रत्येक पटक गर्भवति महिला गर्भ जाँच गराउन आउँदा एक किलो आयोडिन नुन दिने व्यवस्था गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले भने ।
गाउँपालिकाले गर्भबति महिलाई स्वास्थ्य संस्थामार्फत आयोडिन नुन प्रदान गर्न थालेपछि गर्भवति महिलापनि खुसी छन् । स्वास्थ्य शाखा लुहामका ईञ्चार्ज प्रभातकुमार श्रेष्ठले बढिमा ४३ प्रतिशत गर्भवति महिलाले मात्रै स्वास्थ्य संस्थामा चार पटक जाँच गर्ने गरेकामा नुन वितरण गर्न थालेपछि यो दर बढेर त्यो प्रतिसत ८२ पुगेको जानकारी दिए । गत आर्थिक वर्ष २ सय २० जना महिलाले स्वास्थ्य संस्थामै आएर चार पटक सम्म गर्भ जाँच गराएको र उनीहरुलाई त्रिवेणी गाउँपालिकाले एक हजार ४० किलो आयोडिन नुन वितरण गरेको श्रेष्ठले बताए ।
‘ सुरुमा गर्भवति महिलाहरु स्वास्थ्य चौकीमा सजिलै आउन मान्ने अवस्था थिएन, पछिल्लो समय स्वास्थ्य चौकीले त्यसको महत्व धेरै बुझाउन भूमिका खेलेको छ र अब शिक्षित परिवारका मात्रै हैन सबै गर्भवति महिलाहरु नियमित स्वास्थ्य जाँच गराउन आउने गरेका छन्,’ ईञ्चार्ज श्रेष्ठले भने ।गर्भ जाँच गराउँदा एक किलो आयोडिन नुन निःशुल्क पाउँदा गर्भवति महिलाहरु खुसी हुने गरेको उनले बताए । त्रिवेणी गाउँपालिकाका अध्यक्ष डाँगीले गर्भवतिलाई नुन वितरण कार्यक्रम लागु भएपछि गर्भवति महिला र नवजात शिशुमा आयोडिनको कमिले हुने रोगका समस्याहरु विस्तारै कम हुँदै गएको जानकारी दिए ।
उनले गाउँपालिकाले सुत्केरी प्रोत्साहन स्वरुप ५ सय र न्यानो झोला वितरण समेत गर्दै आएको उनले बताए । पछिल्लो समय गाउँगाउँमा मानिसको चेतना स्तरमा क्रमिक बृद्धि हुँदै गएको र ढिका नुन प्रयोग गर्नेहरुले पनि आयोडिन नुनको प्रयोग गर्न थालेको गाउँपालिका उपाध्यक्ष करुणा खड्काले जानकारी दिइन ।
‘हामीले गर्भवती महिलाको लागि ल्याएको कार्यक्रमले दिदी वहिनीहरु निकै खुसी छन् । स्वास्थ्य संस्थामा गएर नियमित जाँच गराउने र प्रसुति गृहमा नै गएर सुत्केरी हुनेको संख्या बढेको छ ।’ उपाध्यक्ष खड्काले भनिन् । गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत रेमन्तबहादुर डाँगीले अवको एक महिना भित्रै गर्भवतिका लागि एम्बुलेनस सेवापनि दिने तयारी भइरहेको जानकारी दिए ।