सुर्खेत, असोज २७ । पार्टी शिर्ष नेतृत्वले कर्णाली प्रदेशका नेकपा नेताहरूलाई काठमाडौं बोलाएका छन् । मुख्य मन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता पछि उत्पन्न किचलो व्यवस्थापन गर्न सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेताहरुलाई काठमाडौं बोलाएका हुन ।
मंगलबार दिउँसो पत्र पठाउँदै दुई अध्यक्षले असोज २९ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन कर्णाली प्रदेशका नेकपाका नेताहरुलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्ने नेतृत्व गरेका सांसद यामलाल कँडेलले आफुले पार्टी शिर्ष नेतृत्वले पठाएको पत्र प्राप्त गरेको जानकारी दिएका छन् ।
आइतबार मात्रै सांसद कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । जसले गर्दा पार्टीमा हलचल पैदा भएको थियो । पार्टी विभाजन सम्मका कुराहरु चलेका थिए ।
स्रोतका अनुसार संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला, सांसदहरु सांसद कँडेल र चन्द्रबहादुर शाहीलाई पनि विवाद समाधान गर्न भन्दै काठमाडौं बोलाइएको छ।