तुलसीपुर,असोज २५ ।दाङका निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले बैशाख महिनादेखि तलब पाएका छैनन् । कोरोना भाइरस र लकडाउनका कारण विद्यालय वन्द भए । त्यसबीचमा अनलाइन कक्षा पढाएका शिक्षकले समेत लामो समयदेखि तलब नपाएको गुनासो गरेका छन् ।
‘लकडाउन खुकुलो भएदेखि नै अनलाइनबाट विद्यार्थी पढाइ रहेको छु,’ एक शिक्षकले भने ‘तर, पाँच महिना भयो तलब पाएको छैन ।’
अब रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको नाम उल्लेख नगर्ने सर्तमा ती शिक्षकले बताए ।
‘यो बेला न विद्यालयले तलब दिन्छ । न सञ्चित रकम नै छ,’ उनले भने ‘ मासिक तलब थाप्दै घर चलाउने शिक्षकलाई साँझ विहान हात मुखकै समस्या उत्पन्न भएको छ।’
ऐन प्यावसन दाङका अध्यक्ष बिमल गौतमका अनुसार दाङमा सबै निजी विद्यालयका शिक्षकले बैशाख महिलादेखि तलब नपाएको बताए । ‘चैत महिनासम्मको अधिकांश विद्यालयले तलब खुवाइसकेका छन,’ गौतमले भने ‘बैशाख महिनादेखि विद्यालय बन्द भएपछि शिक्षकले तलब खान पाएनन् ।’ यो बीचमा केही विद्यालयले पेश्की स्वरुप शिक्षकलाई घर खर्च चलाउने रकम दिएको गौतमले बताए ।
दाङमा २ सय ५० बढी निजी विद्यालयमा झण्डै ५ हजार शिक्षक कार्यरत छन् । ती मध्य कसैले पनि तलब नपाएको प्यावसन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुधन केसीले जानकारी दिए । राज्यले पनि भदौ महिनासम्मको तलब लिन नपाउने कार्यविधि बनाएको र विद्यालय सञ्चालक समितिले पनि कुनै निर्णय गर्न नसकेको केसीले बताए ।
अनलाइन कक्षाको अभिभाबकले शुल्क दिन्छौ भन्दापनि सरकारले रोक लगाएपछि थप समस्या भएको उनले बताए । अहिले २ देखि ४ प्रतिशत मात्र विद्यार्थीहरु स्कुलको कम्पाउण्डमा रहेको र बाँकी सबै विद्यार्थी घरमै रहेको केसीले जानकारी दिए ।
‘घोराहीको कार्यविधिले एउटा कक्षामा ३० जना विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न पाइने भन्ने छ,’ केसीले भने ‘लमहीको कार्यविधिले स्कुल बससम्म सञ्चालन गर्न पाइने भन्ने छ। तर, तुलसीपुर उपमहानगपालिकाको कार्यविधिले गाडी सञ्चालनको कुरा पनि ल्याउन सकेन र एउटा कक्षामा ३० जनाको सामाजिक दुरी कायम गरेर सञ्चालन गर्ने भन्ने पनि ल्याउन सकेन।’
त्यसले गर्दा तुलसीपुर क्षेत्रको शिक्षाको अवस्था नाजुक भइरहेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शााखाले बैशाखदेखि भदौ सम्मको पैसा कत्तिपनि नलिन आदेश गरेको उनले बताए । पैसा लिएमा त्यो विद्यालय÷शिक्षक दुबैलाई कारवाही गर्ने चेतावनी दिएको हुँदा थप समस्या उत्पन्न भएको उनले जानकारी दिए ।