२०८१ चैत्र ६ गते बुधवार

तीनदेखि घर नफर्किएका वडाध्यक्ष रावतको खोजी जारी

दाङ, असोज १३ । तीन दिनदेखि घर नगएका सल्यानको शारदा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुलसीराम रावतको खोजी कार्य जारी रहेको छ । आइतावरदेखि वडाध्यक्ष रावत घर फर्किएका छैनन् । सोमवार बेलुका सम्म उनको मोवाईलमा फोन सम्पर्क गर्दा फोनमा कुरा गरेको भएपनि मंगलवार विहानदेखि मोवाई अफ रहेको प्रहरीले बताएको छ ।

मंगलवार विहानदेखि उनका सबै मोवाईलहरु अफ गरिएका छन् । वडाध्यक्षका भाइ तथा दाङको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर रावतले आफ्नो दाजुसंग रहेका सबै मोवाईल विहानदेखि अफ रहेको जानकारी दिए । त्यस्तै उनले आफ्ना साइला दाजु तुलसीराम उक्त दिन सल्यानको सितलपाटीवाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा आएर झरेकोसम्म आफुले जानकारी पाएको बताए ।

‘ दाजु सितलपाटीवाट एक्लै बसमा चढ्नु भएको रहेछ,’ अध्यक्ष रावतले भने ‘ उहाँ तुलसीपुरको बीपी चोकमा बेलुका ७ बजेतिर झरेको सम्म जानकारी प्राप्त भएको छ।’

वाणिज्य संघका अध्यक्ष रावतले दाजु तुलसीरामले दाङ आउँदा आफुहरुलाई भने कुनै खवर नगरेको बताए । ‘पछिल्लो समय मेरो दाजुसंग फोन सम्पर्क नभएको दूई महिना भइसकेको थियो,’ उनले भने ‘ तुलसीपुरमा हामी दुई भाई बस्छौं, उहाँले अर्कौ दाजुलाई पनि फोन गर्नु भएको छैन र भाइ काठमाडौंमा बस्छ उस्लाई पनि दाङ आउन लागेको कुरा गर्नू भएको छैन।’

प्रहरीका अनुसार फोन ट्रेसिङ गर्दापनि आइतवार बेलुका वडाध्यक्ष रावत तुलसीपुरमै रहेको देखिएको छ । वडाध्यक्ष रावत आइतवार तुलसीपुर ४ रक्षाचौरमा बेलुका ६ बजेर २८ मिनेटमा रहेको फोन ट्रेसिङले देखाएको छ ।

‘ तुलसीराम दाजुले सोमवार बेलुका भिनाजुको फोन उठाउनु भयो, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीको फोन पनि उठाउनु भएको रहेछ,’ वाणिज्य अध्यक्ष रावतले भने ‘उहाँहरु सबैसंग दाजुले आफु अप्ठेरोमा परेको संकेतपनि गर्नु भएको रहेछ, तर बढी कुरा खुलाउन भएन छ ।’

आफुले शारदा नगरपालिका मेयर अधिकारीलाई सोध्दा सरकारद्धारा प्रतिवन्धित विप्लवका जिल्ला नेतृत्वले आफुहरुले वडाध्यक्षको अपहरण गरि बन्धक बनाउने कार्य नगरेको भन्ने जानकारी दिएको उनले बताए । संवाददाता संगको फोन सम्पर्कमा पनि मेयर अधिकारीले पनि त्यही कुरा बताए ।

‘विप्लवले अपहरण गरेको देखिदैन,’ मेयर अधिकारीले भने ‘ उहाँको व्यक्तिगत लेनदेन र व्यापारका कारण हो कि भन्ने आशंका भइरहेको छ।’

वडाध्यक्षको लेनदेनवारे कुरा बुझ्न खोज्दा भाइ तथा वाणिज्य संघका अध्यक्ष रावतले पछिल्लो समय एकजना तुलसीपुरमै एक व्यक्तिलाई एकलाख रुपैंया दिन बाँकी रहेको भन्ने कुरा खुल्न आएपनि त्यो बाहेक अन्त कुनै खालको लेनदेनको कुरा नदेखिएको बताए ।

दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले वडाध्यक्ष रावतको रातदिन खोजी गर्दापनि हालसम्म फेला पार्न नसकेको जानकारी दिए ।

‘हामीले रातभर खोज्दापनि फेलापार्न सकेनौं र अहिलेपनि प्रहरी खोजीमा लागि परेको छ,’ सिंहले भने । जिल्ला प्रहरी कार्यालय सल्यानले भने वडाध्यक्षका नजिको सम्पर्कमा रहने व्यक्ति, चालक लगाएलाई बोलाएर सोधपुछ सुरु गरेको छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *