
सल्यान, असोज १३ ।स्थानीयस्तरमै रोजगारी श्रृजना गर्नका लागि सल्यानको कालीमाटी गाउँपालिकाले बजेट केन्द्रित गरेको छ । कोभिड–१९ को कारण बैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै पनि रोजगारी गुमाएकाहरुलाई सम्बोधन गर्न भन्दै रोजगारमैत्री बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए ।
गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम,सडक मर्मतसम्भार कार्यक्रम, दलित तथा विपन्न संग अध्यक्ष कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रम, बाख्रापालन पकेट क्षेत्र कार्यक्रम जस्ता योजना र कार्यक्रम कालिमाटी गाउँपालिकामा यस वर्ष सञ्चालन गर्न लागेको अध्यक्ष केसीले जानकारी दिए ।
सार्वजनीक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा स्थानीयले रोजगारी पाउन सकुन् भन्ने उदेश्यले बजेट केन्द्रित गरेको केसीले बताए । ५ लाख भन्दा कमका कुनै पनि योजना नबनाएको अध्यक्ष केसीले बताए ।
अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड ३० लाख,सडक मर्मतसम्भार कार्यक्रमका लागि मात्रै ५० लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष केसीले बताए । त्यस्तै खरको छाना विस्तापित गर्ने उद्देश्यले दलित तथा विपन्नसंग अध्यक्ष कार्यक्रम कार्यान्वयनमा ल्याउन थालेको छ । त्यस्तै एक वडा एक उत्पादन कार्यक्रम का लागि ९० लाख रुपैंया खर्च गर्न लागिएको छ ।
संघ तथा प्रदेश सरकारसंगको सहकार्य साझेदारीमा ती योजनाहरु सञ्चालनको क्रममा रहेको अध्यक्ष केसीले जानकारी दिए । कृषि र बाख्रापालन पकेट क्षेत्रका लागि अनुदान दिने तयारी गरिएको छ ।
