तुलसीपुर, भदौ १३ । दाङमा मास्क नलगाउनेलाई कारवाही गर्दा एकै दिन ८ हजार राजश्व संकलन भएको छ । जिल्लाका प्रमुख बजारहरु तुलसीपुर र घोराहीमा मास्क नलगाई हिडडुल गर्नेहरु मध्य शुक्रवार ८० जनालाई आर्थिक कारवाहीमा परेका थिए । कारवाही पर्ने मध्य १३ महिला र ६७ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
विहीवार ५२ जना कारवाहीमा परेका थिए । त्यसवाट ५ हजार २ सय राजश्व संकलन भएको थियो । मास्क नलगाई हिडडुल गर्नेलाई प्रहरीले प्रतिव्यक्ति एक सय रुपैंया जरिवाना तिराउन थालेको छ । दूई दिनको अवधिमा दाङमा १३ हजार २ सय राजश्व मास्क कारवाहीवाट संकलन भएको प्रहरीले बताएको छ । त्यस्तै शुक्रवार १ सय ६४ वटा सवारी साधनलाई होल्डमा राखेर संझाई बुझाई छाडिएको डिएसपी खड्काले बताएका छन् ।
जसमा १ सय १७ मोटरसाईकल, अटो रिक्सा ३६, स्कूटर ७ र बस ४ वटा परेका थिए । त्यस्तै विहीवार २ सय ४४ सवारी साधनलाई होल्डमा राखेर छोडिएको प्रहरीले बताएको छ । त्यसरी होल्डमा राखिएका मध्य १ सय ६५ वटा मोटरसाईकल, अटो रिक्सा ४० वटा, स्कूटर ८ वटा र बस ३ वटा रहेको प्रहरीले जानकारी दिएको छ ।