२०८१ चैत्र १३ गते बुधवार

४ महिना पछि दाङका सडकमा पनि बिहिवारदेखि सार्वजनिक सवारी गुड्न थाले


यमकला भुसाल,
तुलसीपुर, साउन ८ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लामो सयमदेखि जारी लकडाउनले ठप्प रहेका सार्वजनिक सवारी साधन करिब ४ महिनापछि देशभर सञ्चालनमा आएका छन । बिहिवारदेखि दाङमा पनि सार्वजनिक सवारी साधान सञ्चालनमा आएका हुन । झन्डै १ सय १६ दिनपछि सार्वजनिक सवारी सडकमा गुडेको देखेपछि सर्बसाधारण खुसी भएका छन् ।

यसअघि निजी सवारी साधनले आफुखुसी भाडा निर्धारण गरि अप्ठेरोमा परेका सर्वसाधारणबाट मनपरी भाडा असुल्दै आएका थिए । सरकारले तत्काललाई लकडाउन पूर्वको भाडामा थप ५० प्रतिसत बृद्धि गरि भाडा लिन अनुमति दिएको छ । त्यसका साथै आवश्यक सुरक्षा सावधानी पनि अपनाउन आग्रह गरेको छ । गत चैत्र ११ गतेदेखिको लकडाउनले ठप्प रहेका सार्वजनिक सवारी असार २६ गतेदेखि सरकारले चल्न दिने निर्णय गरेको थियो ।

तर, लामो समयदेखि ग्यारेजमा थन्किएका यातयातका साधन सडकमा चलाउने स्थितिमा नरहेको र सरकारले व्यवसायीका माग बेवास्ता गर्दै एकहोरो रूपमा निर्णय सुनाएको भन्दै यातायात व्यवसायीले तत्कालै यातयातका साधन नचलाउने निर्णय गरेका थिए ।

त्यसको करिब २ साता पछि सरकारले यातयात व्यवसायीका मागलाई सम्बोधन गर्ने भनेपछि बिहिवारदेखि जिल्लाभित्र यातयातका साधन चलाउन सुरु गरिएको नेपाल राष्ट्रिय यातयात महासघंका केन्द्रिय सल्लाहाकार तथा त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालि दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिए । अहिले जिल्लामा ८ वटै यातयात प्रा.लि का गाडी सञ्चालनमा आएको बताए । उनका अनुसार दाङमा तुलसीपुर–घोराही,लमही–भालुवाङ् तुलसीपुर पुरन्धरा लगाएत जिल्लाका सबै रुटहरुमा यातयात साधन सञ्चालनमा आएका छन् ।

‘हामीले सरकारको मापदण्ड अनुसार भाडा कायम गरेका छौं,’ अध्यक्ष हमालले भने –‘अब यात्रुले भाडा दिदा पहिलेको भन्दा अहिले ५० प्रतिशत बढी तिर्नुपर्ने छ ।’हाल सरकारले जिल्ला भित्र मात्रै सवारी चलाउने अनुमति दिएको छ । भदौँ १ गतेदेखि मात्रै लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने सरकारले यसअघि नै निर्णय गरेको छ ।

उनले आबश्यक स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदैँ गाडीको कुल क्षमता भन्दा आधा यात्रु राखेर गाडी सञ्चालन गरिने जानकारी दिए । ‘यात्रुले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने छ,’ उनले भने,– ‘यदि यात्रुसंग मास्क नभएमा मास्कको शुल्क लिएर गाडीमा मास्क उपलब्ध गराउने गरेका छौँ।’

सरकारले लकडाउन हटाए पनि एक जिल्लाबाट अर्कोमा जानका लागि पास अनिवार्य चाहिले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । जिल्ला भित्र सबै निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पास आवश्यक नभए पनि जिल्ला बाहिर जानु परेमा रातो प्लेटका निजी सवारीसाधनलाई अनिवार्य पास चाहिने रिजालले बताए ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *