असार २५। अविरल वर्षासँगै आएको बाढी पहिरोबाट सिन्धुपाल्चोकमा ठुलो धनजनकोक्षति भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको छ भने दुई जना घाइते भएका छन् । स्थानीय खहरे खोलामा आएको बाढीले झण्डै दुई दर्जन घर बगाएको छ ।
बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यहाँ दुई जनाको शव समेत फेला परेको छ । १८ /१९ वटा घर पहिरोले लगेको छ भने पक्की पुलसमेत बगाएको छ । जुरे, बाह्रबिसे लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
यस्तै भोटेकोशी गाउँपालिकामा चार जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा दुईवटा घर बगाएको छ । त्यहाँ दुई जना बालबालिका घाइते भएका छन् । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।