२०८१ माघ १२ गते शनिवार

व्यवसायिक कर छुट गर्न आग्रह

तुलसीपुर, २४ जेठ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले लकडाउन अवधिभरको कर छुट गर्न आग्रह गरेको छ । सरकारले असार ७ गतेसम्ममा व्यवसायीहरूलाई कर तिर्न निर्देशन गरेपछि व्यवसायीहरूले यो अवस्थामा कर तिर्न नसक्ने भन्दै छुट गर्न माग गरेका हुन् ।

संघको शनिबार बसेको बैठकले घरबेटीहरूलाई घरबहालमा छुट गर्न, बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजमा छुट गर्न आग्रहसमेत गरेको छ । संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीहरूको असहज अवस्थालाई सहज गराउन आवश्यक परेमा सहयोगको वातावरण निर्माण गर्न उपाध्यक्ष गोकर्ण गिरीको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।

बैठकमा सहभागी व्यवसायीहरूले लामो समयसम्मको लकडाउनका कारण उद्योग व्यवसायमा ठूलो असर परेको बताएका छन् । सरकारले व्यवसायीका समस्यालाई बेवास्ता गर्दै करमा ताकेता लगाउँदा व्यवसायीहरू मर्कामा परेको उनीहरूको भनाई छ  । उनीहरूले तोकेको समयमा कर तिर्न नसकिने दाबी गरेका छन् ।

संघका सल्लाहकारहरू नेत्रलाल ओली, मोहन धिताल, टिकाराम रोका, होमप्रकाश गौतम लगायतले व्यवसायीहरूलाई परेको समस्याका बारेमा संघले पहल गर्नुपर्ने बताएका थिए ।

व्यवसायी ऋषि भण्डारीले कोरोना कहरबीच बजार खोल्नु तत्कालका लागि समस्या भएको बताए । संघका उपाध्यक्ष गिरीले व्यवसायीका समाधानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । बैंक ब्याज छुटका लागि पहल गर्नुका साथै ठूला व्यवसायीहरूलाई न्यूनतम ब्याजको पहल गर्ने र एकआपसमा समन्वय बढाउनुपर्नेमा जोड दिए ।

बैठकमा व्यवसायी नविन बुढाथोकी, प्रमोद बस्नेत, धर्मेन्द्र वैश्यले संघले विपद् व्यवस्थापन र बजार व्यवस्थापनमा ठोस निर्णय लिनुपर्ने बताएका थिए । बैठकको सञ्चालन संघका महासचिव झलक केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *