दाङ,माघ २३ । घोराहीको धारापानी स्थित पाण्डवेश्वर महादेवको मन्दिरमा तीन दिन महोत्सव सञ्चालन गरिने भएको छ ।
शिवरात्रिको अवसर पारेर फागुन ८ देखि १० गते महोत्सव लगाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णु आचार्यले जानकारी दिए ।
यसअघि हरेक विशारात्रिको समयमा यहाँ मेला लाग्दै आएको भएपनि विगत केही वर्ष यता मेलालाई महोत्सवको रुपमा मनाउँदै आइएको छ । पर्यटन वर्ष सन २०२० लाई मध्यनजर गर्दै तीनदिन सम्म महोत्सव लगाउन लागिएको सचिव आचार्यले जानकारी दिए ।
पाण्डवेश्वर मन्दिरमा गत सालदेखि नेपाली सेनाले सलामी दिन सुरु गरेको छ । अबदेखि प्रत्येक वर्ष शिवरापत्रिको दिनमा नेपाली सेनाले सलामी दिने भएको छ ।
घोराही उपमानगरपालिका वडा नं. ५ स्थित यो मन्दिर जिल्लाको एक प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकाश हुँदै गएको छ । यहाँ विश्वकै अग्लो त्रिशुल २०७१ स्थापना गरिए पछि झनै चर्चा परिचर्चा चुलिएको छ ।
यसैबीच मन्दिरदेखि २४६३ मिटरको उचाईमा रहेको चुरे पर्वतमा ‘सुनकोट खड्गदेवी मन्दिर’को जिर्णौद्धारको काम सुरु भएको छ ।
पाडवेश्वर महादेव मन्दिरको ठिक माथि चुरे पहाडमा निर्माण भइरहेको भगवतीको मन्दिरसम्म पुग्न महादेवको मन्दिरदेखि ४ हजार ९ सय ६३ वटा सिढी निर्माण गर्न लागिएको छ ।
मन्दिर व्यवस्थापन समितिका सचिव आचार्यले हालसम्म २०० जति सिढीहरु निर्माण भइसकेको जानकारी दिए ।