२०८१ जेष्ठ १३ गते आइतवार

‘घुम्न जाउँ तुलसीपुर’ अभियानबारे छलफल


तुलसीपुर,मंसिर २० । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले पनि घुम्न जाउँ तुलसीपुर अभियानको उद्घाटन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटनको केन्द्रका रुपमा स्थापना गराउन अभियान उद्घाटन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । अभियानको कहिले उद्घाटन गर्ने भन्ने बारेमा भने एकिन भइसकेको छैन ।

तुलसीपुरका सबै पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने अभियानमा उपमहानगरपालिका लागेको मेयर पाण्डेले बताए ।

अभियानलाई लक्षित गरेर उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल समेत गरेको छ । छलफलका क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिन आग्रह गरे ।

वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले विभिन्न महिना छुट्याएर फरक फरक ढँगले अभियान सञ्चालन गर्नुपर्ने जोड दिए । अभियान सफल पार्न पर्यटकहरुको वसोवास र आतिथ्यताको पनि उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । वडा नम्वर १४ का अध्यक्ष पर्शुराम चौधरीले पर्यटकहरुलाई तुलसीपुर क्षेत्रका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *