दाङ,असोज ३० । रित्तो घरमा तीन दिनदेखि बैठक गरिरहेको समयमा प्रहरीले विप्लवका केन्द्रीय नेताहरु सहित २१ जनालाई पक्राउ गरेको छ ।विहीवार विहान १ बजेतिर उनीहरुलाई जिल्लाको राप्ती गाउँपालिका वडा नं. ४ स्थित ज्ञानेन्द्र वलीको रित्तो घरमा बैठक बसीरहेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । वलीको सपरिवार विदेशमा बस्दै आएको हुँदा रित्तो घरमा विगत तीन दिनदेखि विप्लवका नेता कार्यकर्ताले बैठक गरिरहेका थिए । त्यो थाहा पाएर गोप्य सूचनाको आधारमा प्रहरीले मध्यरातमा घेराहालेर उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रबक्ता शाहले बताएका छन् ।
नेपाल–भारत सीमा नाकामा पर्ने राप्ती गाउँपालिकाको वडा नं. ४ को जंगल क्षेत्रमा ज्ञानेन्द्र वलीको घर जंगलको बीचमा एकलास स्थानमा छ । आसपासको केही दुरीमा अन्य तीन वटा घरहरु पनि रहेका छन् । ती घरमा आस्रय लिइरहेका विप्लवका अन्य नेता कार्यकर्ता भने भाग्न सफल भएको प्रहरीले बताएको छ ।
केन्द्रीय नेताको उपस्थितिमा भइरहेको उक्त बैठकमा साविक राप्तीका पाँच जिल्लाहरु दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका नेता कार्यकर्ताहरु सहभागि रहेको हुन सक्ने आशंका गरिएको छ । पक्राउ पर्नेहरुमा को को छन् ? भन्ने सवालमा प्रहरीले अझैं नामहरु सार्वजनिक नगरेको छैन ।
पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही ल्याएपछि विहीवार नै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले बताएको छ ।