
दाङ,भदौ २ । तुलसीपुरको गहते खोजा नजिकै भएको हायस दुर्घटनामा परेका मध्य एक घाइतेको मृत्यु भएको छ । हायसमा सवार बबई गाउँपालिका वडा नं. ७ निवासी ६० बर्षीया मुन्य चौधरीको उपचारको लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले घाइते चौधरीको बाटो मै मृत्यु भएको जानकारी दिए ।
गम्भीर घाइते चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँके रेफर गरिएको थियो । चालक सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका निवासी २४ बर्षीय करण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्ने घाइते भएका छन् । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार चालक अध्यधिक मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् । चालकको लापरवाहीले गर्दा उक्त दुर्घटना भएको देखिन आएको प्रहरीले बताएको छ ।
तुलसीपुरबाट रगैंचा तर्फ जाँदै गरेको बा ३ ख १६०२ नम्वरको हायस बुधवार दिउँसो अनियन्त्रित भइ बाटोको छेउमा पल्टिदा दुई जना पैदल यात्रुसहित हायसमा सवार थप ५ जना घाइते भएका थिए । हायसको ठक्कर बाट पैदल यात्रु तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५८ बर्षीया सीता डाँगीपनि गम्भीर घाइते भएकी छन् । प्रहरीका अनुसार उनको बाँकेमा उपचार भइरहेको छ ।
त्यो दुर्घटनामा परि पैदल यात्री तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी १८ बर्षीया कमला डाँगी, दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी ४७ बर्षीया तिलकुमारी डाँगी, बबई गाउँपालिकाको वडा नं. ६ निवासी १८ बर्षीया पूर्णिमा चौधरी, सोही गाउँपािलको वडा नं. ७ निवासी ३२ बर्षीया चिन्टी चौधरी र सोही ठाउँकी ३५ बर्षीया सीता चौधरी घाइते भएका छन् । उनीहरु मध्य तिलकुमारी डाँगी र चिन्टी चौधरीको अवस्था मध्यमखालको रहेको प्रहरीले बताएको छ । पैदल यात्रु बाहेक अन्य सबै घाइते उपचार पछि घर फर्किएको पनि प्रहरीले बताएको छ ।