
दाङ,भदौ २९ । जिल्ला प्रहरी कार्यालय सल्यानले वन्य जन्तु रतुवा मारेको मारेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका वडा नं. ३ ईग्रेखोलामा रतुवा मारेर गाउँमा लगेर काटेर मासु भाग वन्डा गर्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा स्थानीय ५२ बर्षीय गणेश केसी, ४९ बर्षीय शिबकुमार शाही,७५ बर्षीय शोबे बुढा,५९ बर्षीय कासे रावत, ३० बर्षीय देवस्थल केसी,४० बर्षीय लिलाधर केसी, २६ बर्षीय तेजबहादुर केसी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रागेचौर बाट प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको कमान्डमा गएको प्रहरीले उनीहरुलाई रतुवा काटेर मासु भागवण्डा गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । भदौ २६ गते पक्राउ परेका सातै जनालाई आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय खलंगामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।