२०८१ बैशाख १२ गते बुधवार

ज्ञानज्योति आविमा पढाइ मेला


यमकला भुसाल
तुलसीपुर, २७ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालय तुलसीपुरमा पढाइ मेला कार्यक्रम भएको छ । रमाइलो पढाइ र दिगो विकास अभियानअन्तर्गत सञ्चालन भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ मेला शुक्रबार भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरुको पढाइ सुधारका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले भने ‘हरेक विद्यार्थीहरुको पढाइ सुधारका लागि सर्वप्रथम अभिभावक सचेत हुन जरुरी छ र विद्यालयका शिक्षक शिक्षिका पनि जिम्मेवार बन्नुपर्छ ।’ उनले सबैजना विद्यार्थीहरुको भविष्य लागि गम्भीर हुन अभिभावक र शिक्षकहरुलाई आग्रह पनि गरे । विद्यार्थीको राम्रो पढाइ र सिकाइ नभएसम्म पछि भविष्यमा राम्रो कमाई पनि हुँदैन, प्रमुख पाण्डेले भने ।

उनले विद्यालयमा बालबालिकाको शैक्षिक विकास, पूर्वाधार विकासमा उपमहानगरपालिकाले हरपल सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । साथै उनले तुलसीपुर उपमहानगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय शिक्षाको केन्द्रको रुपमा विकास गर्न आफू लागिपरेको समेत बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले तुलसीपुर उपमहानगरपालिकाभित्रका २७ वटा प्रावि तहका विद्यालयहरुमा पढाइ मेला कार्यक्रमहरु भैरहेको बताए ।

उनले कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा गुणस्तर सुधार ल्याउने उद्देश्यले विभिन्न विद्यालयहरुमा पढाइ मेला कार्यक्रमहरु गरिरहेको बताए । साथै उनले विद्यार्थीहरुको बाहिरी ज्ञानसहितको पढाइलाई एक अर्कामा आदानप्रदान गर्ने अवसर पढाइ मेलाले दिएको समेत बताए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मेघराज घिमिरेले पढाइ मेला कार्यक्रमले विद्यार्थीहरुको बोल्ने, लेख्ने र पढ्ने बानीमा विकास हुने बताउनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले साना–साना बालबालिकाको शिक्षालाई बलियो बनाउन यस्ता खालका कार्यक्रमहरुले मद्दत गर्ने बताएका थिए ।

यस्तै विद्यार्थीहरुद्वारा हस्तनिर्माण सामाग्रीहरु प्रदर्शन गरिएको थियो भने विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । विद्यालयकी शिक्षिका उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अभिभावक अमर नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *