
दाङ, २३ भदौ ।
नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि देशभर सुरु हुँदैछ । जनताका गुनासो सुन्न र पार्टीको संगठनलाई सुदृढ गर्न काँग्रेसले जागरण अभियान शुरु गर्न लागेको हो । अभियानमा काँग्रेसले जनता, मतदाता र पार्टीका सबै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरुबीच जीवन्त सम्पर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सुदृढ पार्ने जनाएको छ ।
विपी कोईरालाको १०६औँ जन्मजयन्तीको असवर पारेर अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ । अभियानको अवसरमा हरेक जिल्लाका हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर सुरु हँुदै छ । ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको अभियानको देशभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विपी कोईरालाको १०६औँ जन्मजयन्तीको असवरमा वृक्षारोपण गरेर उद्घाटन हुनेछ ।
हरेक प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटा विरुवाका दरले देशभर ३४ हजार ९ सय ८० विरुवा रोप्ने कार्यक्रम रहेको नेपाली काँग्रेस केन्द्रीय समितिले जनाएको छ । अभियानको अवसरमा दाङमा पनि ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण हुनेछ । हरेक प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिने जागरण अभियान प्रचारप्रसार समितिका संयोजक एवं नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह डाँगीले जानकारी दिए ।
अभियानअन्तर्गत दाङको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को गढवामा, क्षेत्र नम्बर १ ‘ख’ को लमहीमा, क्षेत्र नम्बर २ ‘क’ को बाह्रकुने दहमा, क्षेत्र नम्बर २ ‘ख’ को ढिकपुर मर्पाडाँडामा, क्षेत्र नम्बर ३ ‘क’ को तुलसीपुर दोघरेमा र क्षेत्र नम्बर ३ ‘ख’ को शान्तिनगरमा वृक्षारोपण कार्यक्रम हुनेछ ।
प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरु १ ‘क’ का ताराबहादुर डिसी, १ ‘ख’ का देवानजंग चौधरी, २ ‘क’ का गिरिराज सुवेदी, २ ‘ख’ का कमल गौतम, ३ ‘क’ का घनश्याम ढकाल, ३ ‘ख’ का खीमबहादुर वलीले संयुक्त विज्ञप्ति निकालेर अभियानको उद्घाटन कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा समितिका पदाधिकारी, क्रियाशील सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंगठनलाई अनुरोध गरेका छन् ।
अभियानका लागि नेपाली काँग्रेस केन्द्रीय समितिले ६ जना प्रतिनिधि खटाएको छ । जसमा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा जनक चौधरी, १ ‘ख’ मा सुशीला शाह, २ ‘क’ मा उमा दाहाल, २ ‘ख’ मा धुव्रराज पुरी, ३ ‘क’ मा सुरेन्द्र हमाल र ३ ‘ख’ मा मोहन बराल रहेका छन् । मंगलबार उद्घाटन हुने जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।