दाङ, भदौ २३ ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रशाद कोईरालाका दुईवटा सालिकहरु स्थापना गरिएका छन् । वीपीको १०६औं जन्मजयन्तीको पूर्वसन्ध्यामा सोमबार दाङका प्रमुख सहरहरु तुलसीपुर र घोराहीमा एक÷एकवटा सालिकहरु स्थापना गरिएका छन् । तुलसीपुर र घोराहीमा सोमबार स्थापना गरिएका दुबै सालिक पूर्णकदका रहेका छन् ।
यी दुबै सालिकहरुको अनावरण गर्न पार्टी सभापति शेरबहादुर देउवा दाङ आउन लागेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिएका छन् । जिल्ला सभापति खड्काका अनुसार पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भदौ २७ गते घोराहीमा वीपीको सालिक अनावरण गर्ने छन् भने दोस्रो दिन भदौ २८ गते तुलसीपुरमा वीपीको सालिक अनावरण गर्ने छन् । सालिक अनावरण गर्न पार्टी सभापति आउने गरी सबै कार्यक्रमहरु तय गरिएको जिल्ला सभापति खड्काले जानकारी दिए ।
तुलसीपुरमा यसअघि अर्धकदको सालिक थियो । त्यो हटाएर पूर्णकदको सालिक स्थापना गरिएको छ । तर घोराहीमा भने पहिलो पटक नयाँ सालिक स्थपाना गरिएको हो । तुलसीपुरको सालिक स्थापना गर्न झन्डै ७ लाख खर्च लागेको काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले जानकारी दिए । त्यो रकम पार्टीका विभिन्न व्यक्तिका सहयोगबाट सहयोग प्राप्त भएको उनले बताए ।
घोराहीमा भने पहिलो पटक वीपीको सालिक स्थापना गरिएको हुँदा थप केही खर्च भएको छ । काँग्रेस दाङ क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीले नयाँ सालिक स्थापना गर्न १५ देखि १६ लाखसम्म खर्च भएको हुनसक्ने अनुमान गरे ।
‘हामीले हिसाव गरेका छैनौं । अझैपनि सहयोग संकलन गर्ने क्रम जारी छ । सालिक अनावरणपछि मात्रै हिसाव किताव गर्ने छौं’ सभापति डाँगीले भने । नेपाली काँग्रेसले वीपी जयन्तीको अवसर पारेर सोमबारदेखि नै दोस्रो चरणको जनजागरण कार्यक्रम पनि सुरु गर्न लागेको जानकारी दिएको छ ।