
तुलसीपुर, भदौ १४ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर पोलिटेक्निक इन्ष्टिच्युट सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले यो वर्ष ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ । कलेजले असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि वढाएको छ ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कलेजमा यो वर्ष वन विज्ञानको तीन वर्षे कार्यक्रम सञ्चालन हुने शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले वताए । कलेज सञ्चालनको सबै प्रक्रिया पुरा भएको तथा भर्ना कार्यक्रम अगाडि वढाउन लागिएको प्रमुख गौतमले बताए । कलेज सञ्चालनको तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवम् तुलसी.पुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वैठक वसेर भर्ना प्रक्रिया अगाडि वढाउने निर्णय गरेको हो ।
अन्य प्राविधिक शिक्षालय भन्दा सहुलियत दरमा विद्यार्थीलाई पठन पाठन गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको गौतमले दाबी गरे । वैठकले गरेको निर्णय अनुसार कलेजमा अध्ययन गर्ने नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिइनेछ ।
कलेजले पशुपति मावि हरीपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सहिद परिवार,द्वन्द्वपिडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिने निर्णय गरेको छ । कलेज सञ्चालनका लागि वडा नम्वर १२ को हरिपौरीमा भौतिक संरचना निर्माण भइसकेको छ ।