२०८२ मङ्सिर २४ गते बुधवार

उपकुलपति विरुद्धको आन्दोलन केही दिनलाई स्थगित


दाङ, भदौ १४ । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं’ अभियानले आफ्ना आन्दोलनका कार्यक्रमहरु केही दिनका लागि स्थगित गरेको छ । चाड पर्वलाई मध्यनजर गर्दै प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी विरुद्धको आन्दोलन १७ गतेसम्मका लागि स्थगन गरिएको जानकारी दिइएको छ । अभियानका संयोजक विकरण गौतमको नामबाट जारी विज्ञप्तिमा १५ गते थारु जातिको अट्वारी, १६ गते हरितालिका तीज र १७ गते पञ्चमी परेको हुँदा चाडपर्वको महत्वलाई मध्यनजर गर्दै आन्दोलन स्थगन गरिएको उल्लेख गरिएको छ । भदौ १८ गतेवाट फेरि शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिइएको छ। प्रतिष्ठानको दुर्गतीको मुख्य कारण उपकुलपति डा. संगीता भण्डारी नै भएको जिकिरका साथ आन्दोलन गर्दै आएको प्रतिष्ठान बचाऔं अभियानले उनको राजिनामा नआउँदा सम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।

पक्ष र विपक्षमा राजनीतिक दलहरु धुव्रिकृत
अर्कौ तर्फ नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले शुक्रवार मात्रै घोराहीमा प्रतिष्ठान र उपकुलपतिको समर्थनमा प्रदशन गरेको थियो । घोराहीको प्रदशन तरुण दलका जिल्ला अध्यक्ष टिका घर्तीको नेतृत्वमा भएको हो । प्रदशन पछि तुलसीपुर चोकमा भएको कोणसभालाई सम्वोधन गर्नेहरुले स्वास्थ्य क्षेत्रमा गरिएको घिनलाग्दो राजनीति कायमै रहे चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

नेपाली काँग्रेस दाङले पनि यसअघि नै प्रतिष्ठानको विरुद्धमा भइरहेको आन्दोलनको विरोध गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा पनि यो कुरालाई जोडदार पूर्वक उठाउँदै आएको छ । आवश्यक ऐन कानुन नबनाएको, प्रतिष्ठानलाई बजेट नदिएको जस्ता आरोप लगाउँदै काँग्रेसको पालामा नियुक्त गरिएकी उपकुलपति भण्डारीलाई राजनीतिक प्रतिसोधका कारण सत्तासिन दल नेकपाले हटाउन खोजेको भन्दै नेपाली काँग्रेस दाङले पनि त्यसको विरोध गरिसकेको छ ।

नेपाली काँग्रेसका सभापति कीर्तिबहादुर खड्काले केहीदिन पहिले एक विज्ञप्ति मार्फत सत्ता र शक्तिको आडमा बलजफती गर्न खोजे त्यो सैह्य नहुने चेतावनी दिएका दिइसकेका छन् । काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस यूनियनले पनि पत्रकार महासंघका जिम्मेवार पदाधिकारीलाई समस्या समाधानको लागि पत्रकार मध्यस्तकर्ताको रुपमा प्रस्तुत हुन छोडेर दायित्व र इतिहास नभुल्न स्मरण गराई सकेको छ । जिल्ला अध्यक्ष सञ्तोष सुवेदीले विज्ञप्ति मार्फत त्यो आग्रह गरेका हुन ।

तर सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी दाङले भने प्रतिष्ठान बचाऔं अभियानको समर्थन गरेको छ । जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव तुल्सिराम पुन (सुवास) ले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तिमा काँग्रेसको भनाईको खण्डन समेत गरेका छन् । जसमा उपकुलपति डा. संगीता भण्डारीले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा चिकित्सकहरुले राजिनामा दिएको तथा उनकै कारण प्रतिष्ठान अस्तव्यस्त बनेको दोषारोपन गरिएको छ । नेकपा दाङले प्रतिष्ठान बचाऔं अभियान जस्तै गरि उपकुलपति प्रतिष्ठानलाई असफल तुल्याउन उद्धत रहेको आरोप लगाएको छ।

उपकुलपति कै कारण गत आर्थिक वर्षमा करौडौं बजेट फिर्ता गएको नेकपा दाङले दाबी गरेको छ । उपकुलपतिको राजनीतिक पृष्ठभूमिको बारेमा नेकपालाई कुनै चासो नभएको स्पष्ट पार्दै उपकुलपतिको भूमिमा कमजोर रहेको आशयसहित उनी हटाइएमा मात्रै प्रतिष्ठानको अवस्थामा सुधार आउने नेकपाको ठहर छ । आन्दोलन प्रतिष्ठानको विरोध नभइ गलत नेतृत्वको विरुद्धमा भएको नेकपाले स्पष्ट पारेको छ । साथै उसले आन्दोलनको प्रकृति भन्दा फरक ढंगले अतिरञ्जित गरि आफ्ना गलत क्रियाकलाप छोप्न आन्दोलनका सहभागिलाई झुट्टा मुद्दा लगाइएको दाबीपनि गरिएको छ । नेकपाले पनि उपकुलपति डा. संगीता भण्डारीले समस्या समाधानका लागि राजिनामा दिएर मार्गप्रसस्त गर्न माग गरेको छ ।

विरामीले उपचार पाएनन्
दुई दर्जन जति चिकित्सले एकै साथ राजिनामा दिनु र उनीहरुको राजिनामा पनि स्वीकृत हुनुले प्रतिष्ठान भित्रको सेवा अस्त व्यस्त भएको छ । सर्वसाधारण विरामीले उपचार पाउन सकेका छैनन् । सामान्ने विरामीपनि उपचारका लागि तुलसीपुर र लमही जानुपर्ने अवस्था उत्पन्न भएको छ । अल्लि जटिल प्रकृतिका विरामी बाँके वा बुटवल जानुपर्ने परिस्थिति सृजना भएको छ । तरपनि दलहरु उत्पन्न समस्या समाधानका लागि वार्ता र सम्वातमा जुट्नुको साटो पक्ष र विपक्षमा नारावाजी गर्न, विज्ञप्तिमा मार्फत समर्थन र विरोध जनाउन तल्लिन रहेका छन् ।

राजनीतिक आग्रह पूर्वाग्रह त्यागेर सबै एकै ठाउँमा बसेर वार्तामार्फत समस्या समाधान गर्न तर्फ ध्यान नदिने हो भने झनै प्रतिष्ठान अस्तव्यस्त बन्दै जाने अवस्था आउन सक्ने अनुमान सर्वसाधारण नागरिकले गर्न थालेका छन् । त्यसमा पत्रकार,अधिकारकर्मी, नागरिक समाजले भूमिका खेल्न सक्नुपर्ने एकजना चिकित्सकले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *