
तुलसीपुर, १० भदौ ।
मन्दिर तथा धर्मशाला निर्माणका लागि तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा मंगलबारसम्म १० बढी रकम संकलन भएको छ । महायज्ञमा मंगलबारमात्रै २ लाख बढी रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक विनोदकुमार भण्डारीले जानकारी दिए ।
उनका अनुसार महायज्ञमा तेस्रो दिनसम्म ८ लाख दान संकलन भएको थियो । महायज्ञमा आइतबार ४ लाख, सोमबार ४ लाख र मंगलबार २ लाख गरी १० लाख रकम संकलन भएको उनले बताए । भद्रकाली मन्दिर र धर्मशाला निर्माणार्थ यही भदौ ७ गतेदेखि जारी महायज्ञको चौथो दिनसम्म दानदाताको सहभागिता उल्लेख्य रहेको आयोजक समितिले जनाएको छ ।
१५ गतेसम्म महायज्ञ सञ्चालन हुने महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको मूल आयोजक समितिका संयोजक विनोद अधिकारीले बताए । हिन्दू धर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक , साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको अधिकारीले जानकारी दिए ।
‘मन्दिर निर्माण गर्नका लागि आवश्यक बजेट छैन्, धर्मशाला पनि निर्माण गर्नुपर्ने छ’ उनले भने ‘महायज्ञबाट संकलित रकमले मन्दिर र धर्मशाला निर्माणमा सहयोग पुग्नेछ ।’ महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवताका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् ।
महायज्ञमा एक लाखभन्दा बढी दान रकम सहयोग गर्ने दानदातालाई बजार परिक्रममा गराइने गरिएको छ । त्यस्तै ७० हजारदेखि १ लाखसम्म दान गर्ने दातालाई घरबाटै पञ्चेबाजासहित महायज्ञ स्थलमा परिक्रमा गराइने, ५० हजारदेखि ७० हजारसम्म दान गर्ने दातालाई पञ्चेबाचासहित महायज्ञस्थलमा परिक्रममा गराईने गरेको आयोजनकले जनाएको छ ।
महायज्ञमा मंगलबार १ लाख बढी दान दिने मूल आयोजक समितिका संयोजक अधिकारीलाई फूलमाला, पञ्चेबाजासहित सम्मान गरिएको थियो । ज्ञानमहायज्ञमा लाखबत्ती जागराम, महात्म्य कथाका साथै भजनकीर्तनसमेत हुने गरेको मूल आयोजक समितिले जनाएको छ ।