
यमकला भुसाल,
तुलसीपुर,साउन ३०। नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं. ५ समितिले पर्यटन पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश समितिको मंगलबार र बुधबार पाल्पाको तिनाउ गाउँपालिका—२ नुवाकोटमा बसेको तेस्रो पूर्ण बैठकले पर्यटन बिधामा कलम चलाउने पत्रकार एक जनालाई वर्षमा एक पटक नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश नं. ५ का १२ वटै जिल्लामा पर्यटन सम्बन्धी गतिविधि बढाउने तथा सदस्यहरु थप्ने निर्णय पनि गरेको महासचिव कपिल ज्ञवालीले जानकारी दिए ।
बैठकपछि स्थानीयसंग महासंघले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलदेखि आठ किलोमिटर सडकको दुरीमा रहेको चुरेमा क्षेत्रमा पर्ने नुवाकोट गढी क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । बुटवलदेखि नजिकमा रहेको, ऐतिहासिक महत्व बोकेको नुवाकोट गढी क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बनाउन सकिने उनीहरुले उल्लेख पनि गरे ।
कार्यक्रममा बोल्दै नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले अबको तीन वर्षमा यहाँ केवलकार ल्याउने योजनासहित काम थालिएको बताए । पुरानो बुटवलको शिरबाट तीन किलोमिटरको दुरीमा नुवाकोटमा केवलकार स्टेशन बनाउन सकिने भन्दै नेपालले नुवाकोट गढी ऐतिहासिक वीर गाथासंग जोडिएको राजा मणिमुकुन्द सेनको आश्रय स्थल भएकाले जीतगढी, मणिमुकुन्द सेन उद्यानसंगै एकृकीत विकासमा यसलाई जोड्नु पर्ने उनले धारणा व्यक्त गरे ।
नेपाल भ्रमण वर्ष सन् २०२० का प्रदेश नं. ५ संयोजक समेत रहनुभएका नेपालले तीन वर्षमा नुवाकोट गढी क्षेत्रमा आधुनिक प्रकृतिका पर्यटकीय संरचना समेत निर्माण गरिने बताए ।
यस्तै पर्यटन क्षेत्रमा कलम चलाउने बरिष्ठ पत्रकार चेतन पन्तले ऐतिहासिक नुवाकोट गढीलाई बुद्ध जन्मस्थल लुम्बिनीसंग जोडेर विकास गरिनुपर्ने बताए । अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्लासंग जोडिएको यो नुवाकोटमा रहेका ऐतिहासिक संरचनाहरुको जीर्णेद्धार गरेर यसलाई प्रदेश ५ को एक मुख्य पर्यटनको गन्तब्य बनाउन सकिने पन्तले बताए ।
नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष भुवन कार्कीले पर्यटनको क्षेत्रमा काम गर्ने अभियान महासंघले थालेको भन्दै आगामी दिनमा पर्यटन ब्यवसायी तथा प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । साथै उक्त कार्यक्रमले प्रदेशका १२ वटै जिल्लामा पुगेर पर्यटन सम्बन्धी गतिविधी संचालन गर्ने समेत जनाएको छ ।