
विमल योगी,
दाङ, साउन २२ । घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा बुधवार आर्थिक बर्ष २०७५÷०७६ सालको बार्षिक समिक्षा कार्यक्रम भएको छ ।
वडामा सञ्चालन भएका पूर्वाधार बिकास,सामाजिक बिकास तथा अन्य गतिविधिको समिक्षा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा सचिव चन्द्रबहादुर केसीले वडाले गत आ.व.२०७५÷०७६ सालमा सञ्चालन गरेका गतिविधिका वारेमा जानकारी दिए । उनका अनुसार ७ नं.वडाले गत बर्ष ६३ वटा पूर्वाधार र सामाजिक बिकासका योजना छनौट गरेकोमा ६२ वटा सम्पन्न गरेको छ । त्यस्तै वडामा ७० वटा व्यावसया दर्ता,१६ लाख ९४ हजार एक सय ८५ रुपंैया राजश्व संकलन भएको छ ।
कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले जनतालाई प्राविधिक सेवा स्थानीय स्तरबाटै दिनका लागि यसै आर्थिक बर्षदेखि प्रत्येक वडामा एक जना ईञ्जिनियर वा सवइञ्जिनियर खटाउने बताए । उपभोक्ताहरुले योजनाको काम गर्दा धेरै प्राविधिक समस्या आएको गुनासो गरेको हुँदा अव वडामा फुल टाइम काम गर्ने गरी इञ्जिनियर खटाउन थालेको मेयर चौधरीले बताए ।
नगरमा सिंचाईको अभाव हुन नदिन र नगरवसीलाई उत्पादनसंग जोड्न सवै वडामा कम्तिमा एउटा ड्याम बनाउने नीति रहेको बताएका उनले ७ नम्वरमा पनि यसै बर्ष ड्याम निर्माणको काम सुरु हुने जानारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष खोपीराम चौधरीले सवै टोलको समानुपातिक बिकास गर्न वडा लागि परेको भन्दै बिकासमा जनताको साथ र सक्रियता आवश्यक रहेको तर्क गरे । प्रदेश,केन्द्र तथा नगरसंगको समन्वयमा गतबर्षदेखि सर्रा,सौडियार,बेलहरी र कनरिया सडक पिच सुरु भएको तथा तल्लो दामोदर रोडको स्तर उन्नती,बेलहरीमा सिँचाई तथा खानेपानीका लागि डिप बोरिङ निर्माण,बेलहरीदेखि हनरिया हुदै नापीडाडा सम्म सडक स्तर उन्ननिका योजना यसै सुरु हुन थालेको जानकारी दिए ।