
यमकला भुसाल
तुलसीपुर, साउन १९ ।
क्यान्सर पीडित नारायण वली र विपिन वलीलाई पब्लिक ज्ञानज्योती तुलसीपुरका विद्यार्थीले आर्थिक सहयोग प्रदान गरेका छन् । प्लस टु र ब्याचलरमा अध्यनरत विद्यार्थीले खाजा खर्च कटाएर संकलन गरेको ४२ हजार ७ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
ब्लड क्यान्सर पीडित विपिन वलीको उपचारमा सहयोग पुगोस् भनेर २५ हजार ४ सय र हड्डी क्यान्सर पीडित नारायण वलीको उपचारमा सहयोग पुगोस् भनेर १७ हजार ३ सय ४० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
आइतबार विद्यालय परिसरमा एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको हो । हाल ब्लड क्यान्सर पीडित विपिन वलीको भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ भने हड्डी क्यान्सर पीडित नारायण वलीको काठमाडांँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार जनले जानकारी दिएका छन् ।
पब्लिक ज्ञानज्योतिका प्रध्यानाध्यापक सुरेन्द्र जिसीले अप्ठेरोमा परेका व्यक्तिहरुको सहयोगमा विद्यार्थीले खेलेको भूमिका अनुकरणीय भएको बताए । भविष्यमा यस्तै सेवाभावमा जुट्न उनले अपिल गरे । त्यसअवसरमा नारायण वलीका मामा राकेश यात्री, विद्यार्थी तेजकुमार डाँगी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ पब्लिक ज्ञानज्योती तुलसीपुरका इकाई सभापति प्रकाश डाँगीले गरेका थिए ।