
तुलसीपुर, १६ साउन ।
‘तपाईले दिने रगत कसैको लागि जीवन हो, आउनुहोस् जीवनका लागि एक हौँ’ भन्ने नाराका साथ रोट्रयाक्ट क्लब अफ तुलसीपुरले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत कालिकादेवी रक्त सञ्चार भवन तुलसीपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष नवीन राईले रगत बिनाको जीवनको कल्पना पनि गर्न नसकिने र आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएकोले स्वइच्छाले रगतदान गर्न आह्वान गरे ।
उक्त मानवीय सेवामूलक कार्यमा ३० जनाले रक्तदान गरेको क्लवका सचिव कमल डाँगीले जानकारी दिए । रक्तदान कार्यक्रमको लगत्तै रोट्रयाक्ट क्लवले नै संयोजन गरेको अञ्चल अस्पताल नमुना सरसफाई कार्यक्रममा क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानका अगुवा रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष बिमल रिजाल, अध्यक्ष देव बहादुर केसी, पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठलगायत रोटरियन, रोट्रयाक्ट तथा तुलसीपुरस्थित क्याम्पस अफ लाईफ साइन्सेसमा अध्ययनरत करिव ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
रोट्रयाक्ट क्लवले अभियान थालेसँगै अञ्चल अस्पतालमा उल्लेख्य मात्रामा सरसफाईमा सुधार आएको क्लवका निवर्तमान अध्यक्ष रुपेश शर्माले बताए ।