
दाङ,साउन १३ । रोल्पामा जंगली च्याउ खाएर आमासहित दुई सन्तानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दिपक खड्काले जिल्लाको लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल निवासी २५ बर्षीया फुर्मली बुढाथोकी, उनबम सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको फरक कोणलाई जानकारी दिए ।
गम्भीर विरामी मध्य सबैभन्दा पहिले तीन बर्षीय पुस्करको साउन ११ गते, छोरी सुनिताको १२ गते र आमा फुर्मलीको साउन १३ (सोमबार बिहान) साढे ९ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । पुस्करको प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएपछि साउन १२ गते रोल्पास्थित घरमा ल्याएर दाहासंस्कार गरिएको थियो । पुस्कारको अन्तिम संस्कार भएको दिन उनकी दिदी सुनिताको पनि मृत्यु भएको थियो ।
त्यस्तै सोमवार विहान मेडिकल कलेज भैरहवा उनीहरुकी आमा फुर्मलीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साउन ८ गते उनीहरुले जंगलबाट च्याउ ल्याएर खाएका थिए । त्यस लगतै विरामी परेका आमा,छोरी र छोरालाई उपचारको बुटवल र भैरहवा सम्म पु¥याइएको थियो ।