काठमाडौँ ,बैशाख १० । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले सिंगापुरलाई जितका लागि ४ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको हो ।
मुहम्मद वासिम र वृत्य अरविन्दले दोस्रो विकेटका लागि उत्कृष्ट पार्टनरसिप गर्दै २४६ रन जोड्न सफल भएसँगै यूएई विशाल स्कोर खडा गर्न सफल भएको हो ।
वासिमले ८२ बलको सामना गर्दै १६ छक्का र ९ चौका प्रहार गर्दै कुल १६० रन बनाएका थिए । यस्तै अरविन्दले १३३ बल खेल्दै कूल १७४ रन बनाएका थिए ।
यसका साथै सातौं नम्बरमा ब्याटिङ गर्न आएका आयन अफ्जल खानले ५० बल खेलेर ७४ रनको योगदान दिएका थिए । यो त्रिवि मैदानमा कुनै पनि टिमले खडा गरेको सबैभन्दा ठूलो योगफल हो ।
बलिङतर्फ सिंगापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए ।