२०८० असोज १५ गते सोमवार

एपीएफ बन्यो पीएम कपको च्याम्पियन

काठमाडौं,कात्तिक २६ । भुवन कार्कीको अर्धशतकप्रेरित एपीएफले फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै एपीएफ पीएम कप च्याम्पियन बनेको छ।

अमर रौटेला र मौसम ढकालको तीन–तीन विकेटप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई एक सय ७९ रनमा अलआउट गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा छोट्याइएको खेलको ३९ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको एपीएफले ३८.३ ‌ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एपीएफका लागि ८२ बलमा चार चौका र एक छक्कासहित भुवनले ५५ रनको अर्धशतकीय इनिङ खेले।

यस्तै, सुमित महर्जनले ३४ तथा ‌ओपनर प्रदीप ऐरीले २० बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

बलिङतर्फ आर्मीका लागि जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी, विक्रम शोब र सुशन भारीले एक(एक विकेट लिए।

पहिलो इनिङमा आर्मीका लागि ५६ बलको सामना गरेका राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले तीन चौकासहित ४९ रनको योगदान गरे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्। यद्यपि, अन्तिम विकेटका लागि जितेन्द्र मुखिया र सुशष भारीले ४८ रनको साझेदारी गरेका थिए।

सुशन २५ बलमा १९ रन जोडेर आउट हुँदा जितेन्द्र समान २५ बलमा २४ रन जोडेर अविजित रहे।

एपीएफका लागि कसिलो बलिङ गरेका अमर र मौसमले जनही तीन विकेट लिन आफ्नो कोटाको आठ(आठ ओभरमा क्रमशः ४० र ३२ रन खर्चेका थिए।

यस्तै, पाँच ओभरमा १६ रन खर्चेका किशोर महतोले दुई विकेट लिए। आर्मीले अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई टिममा राखेपछि उत्पन्न विवादका कारण खेल समयमा सुरु नभएर झण्डै दुई घण्टा ढिलो भएको थियो।

अन्ततः सोमपाललाई पनि समावेश गराएर ११ बजे खेल सुरु भएको हो। आर्मीका लागि ओपनिङमा आएका सोमपाल चार बेल खेलेर शून्यमा आउट भएका थिए।

जितसँगै विजेता एपीएफले १० लाख तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ हासिल गरेको छ। दुई सेमिफाइनलिस्ट-नेपाल पुलिस क्लब र मधेश प्रदेशले ५०(५० हजार प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *