२०८३ जेष्ठ २६ गते मङ्गलवार

बिन्दु जस्ले रेडियो कार्यक्रममा प्रथम भएर चलचित्रमा गीत गाउने अवसर पाइन …

तस्विर : राजेश खत्री

दाङ, कात्तिक २५ । चार बर्षीया बिन्दु परियारलाई २४ बर्ष पहिले तुलसीपुर ६ गौलौरास्थित जन्म घरबाट बसाई सराई गरेर पर्सेनी जाँदाको धुमिल क्षण मात्रै सम्झना छ ।

जतिखेर चुलबुले अनि फुच्ची बिन्दु ट्याक्टरको अगाडि बसेकी थिइन । पर्सेनी जाँदा उनकी एक दिदी, एक बहिनी बुवा आमा संगै एउटै ट्याक्टरमा सामान ट्रयाक्टरमै बोकाएर गएका थिए ।

आमाको माउली खलक पर्सेनीमै थियो । उनीहरुकै आग्रहमा साबिक हलवार गाविसको पर्सेनी र हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा बिन्दुको बुवा आमाले बसाई सरेका थिए ।

गोलौरामा बस्दाखेरी नै बिन्दुका आमा बुवा गाउँ घरका मानिसहरुको कपडा सिलाउँथे । बालिघरे पर्था थियो । बर्ष भरी कपडा सिलाए बाफत खाद्यान्न प्राप्त हुन्थ्यो । घरको पारिवारिक गर्जौ टार्ने माध्यम त्यही थियो । अहिले पनि बिन्दुका बुवा होमबहादुर र आमा पातली परियार कपडा नै सिलाउँछन् । तुलसीपुर बजारमा उनीहरुको ‘मञ्जिल’ टेलरिङ सप छ । ‘मञ्जिल’ उनीहरुका एक्ला छोरा हुन । उनी १४ बर्षका छन् । कक्षा आठमा पढ्छन् । बिन्दुकी एक दिदी र एक बहिनी सबैको बिहे भइसकेको छ ।

बिन्दु परिवारको माइली सञ्तान हुन । उनको बिहे अर्घाखाँचीमा भएको छ । श्रीमान सुदीप सागरपनि गीत एरेञ्जको काम गर्छन । उनीहरुको तीन बर्षका एक छोरा पनि छन् ।

घर परिवारमा गीत गाउने बिन्दु मात्रै हुन । पर्सेनी बसाई सरेपछि बिन्दु स्थानीय सरकारी बिद्यालय कालोखोला माबिमा कक्षा १ मा भर्ना भइन । बिन्दु अन्तरमुखी र लजालु स्वभावकी थिइन । बिद्यालयमा केटी साथी बाहेक अरुसंग बोल्नै धक मान्ने । फुर्सदको समयमा घरमा आमा बुवा संगै कपडा सिलाउँथिन ।

‘ त्यो हाम्रो पुर्खेउली पेशा जस्तो हो । त्यसैले मैले घरमै आमा बुवा संग काम गर्दागर्दै सिलाउन सिकेकी थिए,’ बिन्दुले भनिन् ‘आजपनि मलाई लेडिजका लगभग सबै कपडाका आइटमहरु सिलाउन आउँछ।’

बिन्दुको घर नजिकै उनका माउली हजुर बुवा कृष्ण परियारको घर थियो । माउली हजुरबुवा एक्लै छँदा प्राय संधै गीत गाइरहन्थे । उनको गला र कलाले बिन्दु साह्रै प्रभावित थिइन । ‘उहाँले साँझ बिहान नारायण गोपालका गीतहरु गाइ रहनुहुन्थ्यो,’ बिन्दुले भनिन् ‘गाउँले धेरैले उहाँलाई नारायण गोपाल भन्ने गर्दथे ।’

तस्विर : राजेश खत्री

माउली हजुर बुवाकै गायनीबाट प्रभावित बिन्दु एक्लै छँदा बिस्तारै गीतहरु गुनगुनाउँथिन । नारायण गोपाल, तारादेबी, रामकृष्ण ढकाल, यम बराल, उधित नारायण झाँका गीतहरु उनलाई खुबै मनपर्थे ।

बिस्तारै बिन्दुको गलाको चर्चा गाउँ घर हुँदै सहपाठी साथीहरुका बीचसम्म पुग्यो ।

उतिखेर बिद्यालयमा शुक्रबार बिभिन्न अतिरिक्त क्रियाकलापहरु हुने गर्थे । कक्षा ७ मा पढ्दै गर्दा एक दिन बिन्दुलाई त्यस्तै कार्यक्रममा साथीहरुले गीत गाउन आग्रह गरे ।

साथीहरुकै आग्रहमा पहिलो पटक बिद्यालयमा सबैका अगाडि उभिएर बिन्दुले गीत गाइन । पहिलो पटक स्टेजमा उक्लेर गीत गाउन खोज्दा हात खुट्टा लगलग काँपे । कतै नहेरी उनले गीत सकिन ।

उनले गीत सकेपछि सबैले ताली बजाए । बिद्यार्थी शिक्षक सबैले कति राम्रो स्वर भनेर प्रशंशा गरे ।

बिन्दुका अनुसार एक जना रमेश रेग्मी उनलाई निरन्तर प्रयास गरे भविस्यमा राम्रो गायक बन्ने सपना देखाइदिए ।

त्यसपछि बिद्यालयमा हुने हरेक शुक्रबारे कार्यक्रमहरुमा बिन्दु सहभागी बन्दै गइन । उनको स्वरको प्रसंशा चल्दै गयो । पछि त के उनलाई पनि गीत गाउने रुचि बढ्दै गयो । कक्षा ८ मा पढ्दा तुलसीपुर रक्षाचौरको गुरु जजुर माविमा प्रतिपर्धा गर्दा बिन्दु तृतिय हुन सफल भइन । त्यसले पनि उनलाई उर्जा दियो ।

बिन्दुले कालाखोला माविबाटै २०६६ सालमा एलएसली उत्तिणर् गरिन । प्रसंशा र चर्चाले गीत संगीत क्षेत्रमा केही गर्ने सपना हुर्किसकेको थियो । एसएलसी पछिको खाली समयमा तुलसीपुरकै मामा नाता पर्ने बच्चु कैलाश संग उनले एक डेढ महिना संगीतको सुर ताल सिकिन ।

त्यसबाट उनमा झनै गीत संगीतको अथाहा महासागरमा डुबुल्की मार्ने तीब्र अभिलाशा प्रकट भयो । अब बिन्दुको मनमा कसरी स्वर निखार्ने, कसरी म्यूजिक सिक्ने ? भन्ने जस्ता कुराहरु खल्न थालिसकेका थिए । बिन्दु आसपासमा हुने गायन प्रतियोगिताहरुमा पुगिहाल्थिन । ‘चुम्बकले फलाम ताने जस्तै म त्यस्ता कार्यक्रमहरुमा आकर्षित हुन थालेकी थिए,’ बिन्दुले भनिन् ।

सोही बिद्यालयको कक्षा १२ मा पढ्दै गर्दा २०६८ सालमा घोराहीमा राप्ती आइडल भयो । त्यसमा बिन्दु प्रथम भइन । झनै उनको आत्मविश्वास बढ्यो । सुरुका दिनहरुमा छोरी चेली एक्लै टाढा जानु हुन्न, घर छोड्नु हुन्न भन्ने बुवा आमाले पनि अब बिन्दुलाई हौसला दिन थालेका थिए । बिन्दु यस्तै अवसरहरुको खोजीमा थिइन । त्यही समयमा तुलसीपुरमै एउटा नयाँ एफएम खुल्यो । रेडियो ‘सर्यु गंगा’ । त्यो रेडियोले २०६९ सालमा ‘सर्यु स्टार’ नामक गायन प्रतिपर्धा मुलक कार्यक्रम सुरु गर्‍यो । त्यो कुरा उनले रेडियो कै बिज्ञापन सुनेर थाहाँ पाएकी थिइन ।

बिन्दु दुई चार जना साथीका साथ रेडियोमा पुगेर फारम भरिन । अन्तिममा लगभग चार पाँच सय प्रतिपर्धी पुगे । लगातार तीन महिनासम्म प्रतिपर्धा गर्दा बिन्दु प्रथम भइन । उतिखेर कार्यक्रम प्रस्तोता डि. आर. एन. थिए र प्राबिधिक गेहेन्द्र खड्का ।

तस्विर : राजेश खत्री

प्रथम हुनेलाई एउटा सिनेमाको गीत गाउन अबसर दिने सर्त थियो । फाइनमा प्रतिपर्धी चुन्न जजको रुपमा म्याग्दीका दीपक शर्मा आएका थिए। शर्मा एक राम्रो संगितकार र गीतकार पनि हुन ।

बिन्दुले २०७० सालमा पहिलो पटक काठमाडौं जाने र गीत रेकर्ड गर्ने अवसर पाइन । दाङ तुलसीपुरकै स्वर्गिय कलाकार सन्दिप भुसालको चलचित्र ‘अप्रिल फूल’का लागि बिन्दुले गीत गाउने अवसर पाइन । तेरो मेरो पिरती भयो कस्तो कस्तो … छुटेपछि नभेट्ने मुना मदन जस्तो … । यो गीतको मेल भर्सन आइ सकेपछि बिन्दुलाई त्यो गीत गाउन लगाइएको थियो ।

जसमा संगित दीपक शर्मा र शब्द शान्ति प्रियको छ । शान्ति प्रिय चलचित्र पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष हुन । रेडियोका कार्यक्रम प्रस्तोता डिआरएन चलचित्र पत्रकार संघका पूर्व दाङ जिल्ला अध्यक्ष हुन । बिन्दुले गीत गाइ सकेपछि उनले वाहवाही कमाउन थालिन ।

चलचित्रमा कलाकारको परिचय आउँदा पार्सो गाइनका रुपमा उनकै गीत बज्थ्यो । बिन्दुलाई पहिलो गीत दिएकाहरुले राम्रो संभावना रहेको हुँदा काठमाडौंमै बसेर संघर्ष गर्न आग्रह गरे ।

त्यो भन्दा पहिले बिन्दुको मनमा एउटा गीत मात्रै रेकर्ड गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने थियो । काठमाडौंमा बस्ने, गायकीलाई नै पेशा बनाउने कुरा उनले सोचेकै थिइनन् ।

घर फर्किएपछि आफ्नै ठाउँका रेडियोबाट समेत बिन्दुले गाएका गीतहरु बज्न थालेपछि उनको खुसीको सीमा क्षितिज बन्थे ।

गाउँ घर, छर छिमेक, साथीहरुले उनलाई गर्ने ब्यबहार र सम्मान फरक बन्न थाल्यो । त्यसपछि लगालग बिन्दुलाई धेरै गीतहरुको अफर आए । उनले निरन्तर दर्जन बढी गीतहरुमा काम गरिन । बिन्दु यो बीचमा दाङ-काठमाडौं आउ जाउ गरिरहन्थिन ।

भिनाजु नेपाल प्रहरीका जागिरे थिए । दिदी भिनाजु काठमाडौंमा बस्थे । त्यसैले बिन्दुपनि दिदी संगै बस्न थालिन ।

काठमाडौंमा बाँच्न कहाँ सहज थियो र ? सुरु-सुरुका दिनहरुमा बिन्दुले संघर्ष गर्नु पर्‍यो । कोरस (समुह)मा पनि गीतहरु गाइन । टिकिरहन उनले काठमाडौंमा टेलरिङको कामपनि गरिन ।

केही समय रेष्टुँराहरुमा गजलमा पनि काम गरिन । तर, तीन चार महिना पछि उनले काम छोडिन । बिन्दुले २०७४ सालमा चलचित्र मंगलमको लागि गीत गाउने अफर आयो । ‘पर्ख पर्ख मायालु म पनि त आउँला रेलको झ्याल समाएर संगै भागम्ला’… बोलको गीत गाएपछि भने बिन्दुलाई कहिलै फर्किएर पछाडि हेर्नु परेन ।

त्यो गीत गाएपछि उनले संगातिक करिएरमै फड्को नै मारिन । बिन्दुले सोही गीतमै पहिलो राष्ट्रिय अवार्डपनि जितिन । देश भरका मेला महोत्सवहरुबाट उनलाई थुप्रै निम्ताहरु आउन थाले । स्टेज प्रोगाममा हत्तपत्त हिम्मत नगर्ने बिन्दुलाई त्यही गीतको चर्चाले स्टेजमा उक्लन हौसला मिलेको बताउँछिन् । भिनाजुको सरुवा पछि दिदीपनि काठमाडौंबाट दाङस्थित घरमा फर्किइन । अब एक्ली बिन्दु पाटनर खोजेर कोठा भाडा बस्न थालिन ।

तीन बर्ष पहिले ‘छक्का पञ्जा’ चलचित्रको ‘पहिलो नम्बरमा’ …बोलको गीत, दुई बर्ष पहिले ‘घर बारमा’… , माया गर्छु है …जस्ता चर्चित गीतहरु गाइ सकेपछि बिन्दुको चर्चा अहिले देश बिदेश सर्वत्र छाएको छ । उनले छिरिङ, काली लगाएतका चलचित्रहरु समेत गरि हालसम्म झन्डै तीन सय जति गीतहरु गाइ सकेको बताइन ।

झन्डै तीन हप्ता दिन अगाडि मात्रै उनको ‘तिम्रै हुन पाउँ’…बोलेको गीत सार्वजनिक भएको छ । जसमा उनले आँफै पहिलो पटक मोडलिङपनि गरेकी छन् ।

बिन्दुलाई मोडलिङमा देखेपछि उनका देश बिदेशमा रहेका फ्यानहरुले ‘कति राम्री’ भनेर प्रशंसा गर्न थालेपछि उनी मख्ख छिन् । तर, जति नै ब्यस्तता भएपनि जन्मथलो दाङमा उनी हरेक बर्षका दसैं, तिहार जस्ता पर्वहरुमा जसरी पनि आउने गरेको बताउँछिन ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *