देउखुरी, फागुन १९ ।राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको लागि विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको छ ।आगामि शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने गरि तयारी स्वरुप विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको हो ।
पहिलो दिन स्थानीय पाठ्यक्रम निर्माणका लागि बिषयबस्तु छनौट सम्वन्धि कार्यविधि २०७७ को आधारमा स्थानीय तहमा पाठ्यक्रम निर्माणका लागि अभ्यास गरिएको छ भने आगामी दुई दिन विषय विज्ञ तथा स्थानीय पाठ्यक्रम निर्माण विज्ञ सहितको कार्यशाला गरिने भएको छ ।
स्थानीय पाठ्यव्रmम निर्माणका सवालमा धेरै बाधा व्यबधानहरू आइपर्ने र तिनको समाधानका लागि प्राविधिक, विशेषज्ञ, शिक्षाविद्, शिक्षक, शैक्षिक सामग्री आदिको समुचित प्रयोग र परिचालन आवश्यक रहेको सहभागिहरुले सूझाएका छन् ।
कार्यशालामा स्थानीय पाठ्यक्रम विकास गर्दा राप्ती गाउँपालिकामा आवश्यकता पहिचान गरि स्थानीय तहका सरोकारवाला, विज्ञ, कुन कुन विषयमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ, सो को आधार, आवश्यकता पहिचान गर्ने क्षेत्रहरु, सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय, व्यवसायिक तथा गैह्र व्यावसायिक क्षेत्रलाई जोड दिईने भएको छ ।
विद्यार्थीको उमेर, अवस्था, बाल मनोविज्ञान, सिकाइ स्तर, कक्षातह, विषयवस्तुको प्रकृति, स्रोत र साधनको उपलब्धता र उपयोग जस्ता कुराहरुलाई ध्यान दिइने शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए ।
राप्ती गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष, क्रियाशिल राजननीक दलका प्रतिनिधि सहभागि रहेको कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक बिश्वास विकले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता र गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।