२०८२ मङ्सिर २२ गते सोमवार

बाढीले पोल ढालेपछि तुलसीपुरको क्षेत्रको विद्युत फेरि अनियमित


दाङ,असार २९ । तुलसीपुर क्षेत्रको विद्युत सेवा आइतवार दिनभर जसो अवरुद्ध भयो । बबईमा आएको बाढीले विद्युत पोलहरु ढालेपछि विद्युत सेवा अवरुद्ध हुन पुगेको विद्युत कार्यालयले तुलसीपुरले जानकारी दिएको छ ।

अविरल बर्षापछि बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानरपालिका वडा नं. १२ सितलपुरदेखि पूर्व कलिचा क्षेत्रको नदी किनारामा गाडेका ७ वटा पोलहरु बाढीले बगाएका कारण विद्युत सेवा प्रभावित भएको विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दिपक जंग चौधरीले जानकारी दिए ।

त्यस्तै विजौरी क्षेत्रमा समेत समस्या रहेको हुँदा विद्युत अवरुद्ध बनेको चौधरीले बताए । तर विजौरी क्षेत्रको समस्या भने समाधान भइसकेको उनले जानकारी दिए ।

बबईमा बाढीले ढालेका पोलहरु गाड्न कर्मचारी खटाएको भएपनि अझैं थप २ दिन जति लाग्न सक्ने प्रमुख चौधरीले जानकारी दिए । बाढीले बगाएका पोलहरु नबनाउँदा सम्म विद्युत कार्यालयलाई आन्तरिक लोडसेडिङको तालिका मिलाउनु पर्ने बाध्यता रहेको चौधरी बताए ।

बबईको बाढीले पोल ढलेपछि पश्चिमको हापुरे बाट ल्याइएको विद्युत लाईन प्रभावित भएको चौधरीले जानकारी दिए । झन्डै एक डेढ महिना अगाडि पश्चिम दाङको हापुरे वाट ल्याइएको विद्युत तुलसीपुरमा जोडिएको थियो । त्यसले पहिले जस्तो छिन छिनमै विजुली बत्ति जाने र विद्युत डिम हुने समस्या भने समाधान भएको छ । तर सोझै तुलसीपुरको बाटो नल्याएर तुलसीपुर ९ गहते खोलावाट खोलैखोल दक्षिण लगेर त्यहाँवाट पातुखोला हुँदै बबईको किनारै किनार दुधरासस्थित सोनापुर सिमेन्टमा विद्युत लगिएको छ । त्यसले गर्दा नदी र खोलामा बाढी आउँदा पोलहरु बगाउने वा ढाल्ने समस्या उत्पन्न भइरहने गरेको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *