
लिलाधर वली,
दाङ,जेठ २८ । लमही नगरपालिका वडा नं. ४ श्यामरहवा निवासी रामकुमारी चौधरी हिजो आज राप्ती नदीको बगरमा भेटिन्छिन । राप्तीको बगरमा रोपेको तरकारी हुर्काउनदेखि फलेको तरकारीलाई बजारसम्म ल्याउने गरेकी छिन । थोरै जग्गामा तरकारी खेती गरेको बताउने चौधरीले राम्रो आम्दानी गर्ने गरेकी छिन । ‘थोरै जमिनमा तरकारी खेती गरेपनि उत्पादन राम्रो हुने गरेको छ’, रामकुमारीले भनिन्,‘ यही तरकारी बेचेर घरपरिवार चलाउने गरेको छु ।’ यसरी उत्पादन गरेको तरकारी बेच्नलाई लमहीसम्म आउनुपर्ने उनी बताउछिन । ‘गाउँका अधिकांस परिवारले तरकारी खेती गर्ने भएकाले गाउँमा तरकारी विक्दैन’,उनले भनिन्,‘त्यसैले उत्पादन गरेको तरकारी बेच्नलाई प्राय लमही जाने गरेको छु ।’ तरकारी बेचेर आएको पैसाले दैनिकी चलाउने गरेको उनी बताउँछिन ।
घर व्यवहार सञ्चालनको मुख्य माध्यम नै तरकारी खेती रहेको बताउँने रामकुमारीले करेला, बोडी, भिन्डी,काक्रालगायतका तरकारी रोपेकी छिन । बेमौषमी तरकारी खेती गर्न सके बगरवाट राम्रो उत्पादन लिन सकिने उनी बताउँछिन । अघिल्लो बर्ष जस्तो तरकारी यसबर्ष उत्पादन नभएको उनी बताउँछिन । विरुवा हुर्केने बेला असिना परेका कारण अहिले तरकारी उत्पादनमा कमी आएको बताउँछिन । त्यस्तै लमही नगरपालिका वडा नं. ६ बलरामपुर निवासी खुमा घर्तीमगर तरकारीसँगै खरवुजा बेच्दै आएकी छिन ।
लमही–कोइलावास सडक खण्डको बलरामपुरमा करिव दुई महिनादेखि टहरा बनाएर उनले खरबुजासँगै बोडी,करेलालगायतका तरकारी बेच्दै आएकी छिन । खरबुजा र तरकारी बेचेर राम्रो आम्दानी हुने गरेको खुमाले बताइन । तरकारी राम्रो आम्दानी हुने आशा गरेपनि यसबर्ष आएको असिना पानीका कारण राम्रो उत्पादन नभएको उनको बताईन । ‘खरभुजा फुल खेल्ने समयमा यसबर्ष असिना सहितको पानी प¥यो’, उनले भनिन्,‘असिनाले बोटमा असर पु¥याएपछि यसबर्ष विगतको जस्तो फलेन ।’
कम उत्पादन भएपछि आम्दानीमा समेत कमी आएको उनले बताइन । घर्तिका अनुसार यसबर्ष उत्पादनमा धेरै कमी आएको बताइन । यसले गर्दा आफु जस्ता गाउँका धेरै किसानलाई क्षेती पुगेको छ । देउखुरीका बलरामपुर, श्यामरहवालगायतका गाउँका किसानको बगरदेखि मुख्य आम्दानीको बाटो भएपनि यसबर्ष विगतको बर्ष जस्तो कमाई हुन नसकेको उनी बताउछिन ।
उनले दिनभर खरबुजालगायतका तरकारी बेचेर तीन हजारसम्म कमाई हुने गरेको बताइन । ‘गतबर्ष एक दिनमा पाँच हजारसम्म विक्रि हुने गरेको थियो’, उनले भनिन्,‘कम उत्पादन भएकाले आम्दानीमा समेत कमी आएको छ ।’ घर खर्चको मुख्य माध्यम नै बगर खेती भएको उनले बताइन । देउखुरीमा उनीहरु जस्तै धेरै किसानले बगरखेतीका माध्यमवाट घर व्यवहार चलाउने गरेका छन ।
