दाङ, तुलसीपुर उपमहानगरपालिकाले कृषि वजारलाई व्यवस्थित गर्न आधुनिक कृषि उपज वजार केन्द्र निर्माणको काम थालनी गरेको छ । कृषक र व्यवसायिलाई एकै ठाउँबाट कृषि उपज विक्री गर्न मिल्ने गरि तुलसीपुरको वडा नम्वर ६ मा बजार केन्द्र निर्माण गरिने भएको छ । जसको मेयर घनश्याम पाण्डेले शनिवार सिलन्यास गरेका छन् ।
मावि सेन्टरको जग्गा भाडामा लिएर बजार केन्द्र निर्माण गर्न लागिएको छ । २ करोड ६९ लाखको लागतमा निर्माण गर्ने भनिएको भवन दुई चरणमा निर्माण हुने मेयर पाण्डेले बताए । पहिलो चरणमा टहरा, वाटो, लगायतका संरचना निर्माण हुने र त्यसका लागि १ करोड १० लाख लागत लाग्ने निर्माण समितिका अध्यक्ष झुपलाल खड्काले सिलन्यास कार्यक्रममा जानकारी दिएका हुन । पहिलो चरणमा निर्माण हुने संरचनाको लागि ३० लाख उपमहानगरपालिकाले अनुदान दिने र ८० लाख व्यवसायिले संकलन गर्ने अध्यक्ष खड्काले बताए । पहिलो चरणको काम चैत्र अगाडि नै पुरा गर्ने लक्ष राखिएको छ । पहिलो चरणको संरचना निर्माण भए लगतै बजार संचालन हुने अध्यक्ष खड्काले बताए ।
त्यसपछि दोस्रो चरणमा शित भण्डार निर्माण लगायतका कामहरु गर्ने निर्णय भएको जानकारी दिए । तरकारी र फलफुल व्यापारीका लागि ४० वटा टहरा निर्माण गरिने भएको छ । त्यस मध्य बीचमा किसानको कृषि उपज विक्रि गर्न ठाउँ राख्ने गरि संरचना निर्माण गरिने भएको छ ।
शिलन्यास कार्यक्रमलाई सम्वोधन गर्दै मेयर पाण्डेले समृद्धिको पहिलो शर्त उत्पादन र वितरण भएकाले कृषि उत्पादन वृद्धि गर्न र विक्रि वितरणलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले कृषिमा विशेष योजना निर्माण गरेको बताएका थिए ।
२० वर्ष पछि निर्मित सबै संरचना विद्यालयलाई हस्तान्तरण गर्ने सहमति पछि वजार केन्द्र निर्माण गर्न लागिएको पाण्डेले बताए ।