घोराही, बैशाख ७ । घोराही उपमहानगरपालिकाले फोहोर वस्तु खरिद गर्न सुरु गरेको छ । नयाँ वर्षदेखि फोहर किन्ने नयाँ अभियान थालिएको हो । नयाँ बर्षको दिन नयाँ बसपार्कदेखि फोहर खरिद गर्न सुरु गरिएको हो । फोहोरलाई मोहर वनाउने अभियान अन्र्तगत फोहोर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उप महानगरपालिका बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।
उपमहानगरपालिकाले प्लाष्ट्रिकको बोतल सहित नरम पोलिथिन एक किलोलाई १० रुपैंया, कपडा प्रति केजी ५ रुपैंया, सुर्ती जन्य प्लाष्ट्रिको फोहोर प्रति केजी २ रुपैंया, गत्ता, कापीसहित बर्गिकरण अनुसारका फोहोरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्न थालिएको डाँगीले बताए ।
यसरी खरिद गरिएको गल्ने फोहोरलाई ल्याण्ड फिल साइटमा रहेको बायो ग्याँसमा प्रयोग गरिने र नगल्ने फोहोलाई उद्योगहरु संग समन्वय गरेर विक्री गरिने घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।
नगल्ने फोहोरहरु विशेष गरि प्लाष्ट्रिक र सिसाका वस्तुहरु उद्योगमा पठाइने छ । यसका लागि उद्योग संग सम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।
अहिले सम्झौताका लागि छलफल भइ रहेको उनको भनाइ रहेको छ । ‘अहिले खरिद गरेर संकलन गरेर एक स्थानमा राखिने छ त्यस पछि बिक्री गर्ने छौ,’ प्रमुख प्रशासकिय अधिकृत केसीले भने । खरिद गरिएको फोहोर राख्नका लागि समेत स्थान बनाइ सकिएको उनको उनको भनाइ रहेको छ । फोहोर खरिदका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ६ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष देखि नै फोहोर खरिद गर्ने योजना नगरको थियो ।
तर कोभिडको कारण गत वर्ष कार्यक्रम सुरु हुन सकेन । नगरले टोल– टोल सम्म पुगेर फोहोर खरिद गर्ने योजना रहेको बनाएको संयोजक डाँगी बताए । ‘आफुले गरेको फोहोर आफै व्यवस्थापनका लागि यस अभियानले सहयोग पु¥याउने छ,’ उनले भने ।
उपमहानगरपालिकाले टोल टोल सम्म सचेतना फैलाउनका लागि ३ जना सरसफाई स्वयम सेवक समेत परिचालन गर्ने भएको छ । उनीहरुले टोल टोलमा पुगेर फोहोर उपमहानगरपालिकालाई बिक्री गर्नुस भनेर आग्रह गर्ने काम गर्दै आएका छन् ।
फोहोर नगरपालिकाले खरिद गरिदिने भए पनि नगरवासीहरुले जताततै फोहोर नफाल्ने नगपालिकाको अपेक्षा रहेको छ । ‘फोहोर पनि विक्री गरेर पैंसा आउने भएपछि जताजतै फोहोर हुने छैन ’ संयोजक डाँगीले भने । सवारीका साधनले गाडीवाट फहोर फाल्न नदिएर निश्चित स्थानमा फोहोर जम्मा गरेर नगरपालिकालाई बिक्री गर्ने सक्ने उनले बताए । जताजतै फोहोर नभए पछि वातावरण समेत शुन्दर तथा सफा हुने छ । सफा शहर निर्माण भएमा पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने छ ।
नाला तथा सडकमा फालेको फोहोर खेत वारीसम्म पुग्ने छैन । जसले गर्दा उत्पादनमा समेत बृद्धि हुने उनले बताए । त्यसले घोराही क्षेत्रको आर्थिक विकास तथा अन्य विकासले समेत गति लिने उनले आशा व्यक्त गरे ।
त्यसबाट फोहोर जलाएर हुने बायु प्रदुषण समेत कम हुने छ । उपमहानगरले फोहोर खरिद गरि दिएपछि फोर व्यववस्थापमा समेत सहयोग मिल्ने अपेक्षा लिइएको छ । नगरवासीले आफैले फोहोर व्यवस्थापन गरेमा सरसफाइको लागि तिर्दै आएको शुल्क पनि घटने उनले आशा व्यक्त गरे ।
‘हामीले दैनिक रुपमा फोहोर उठाउन जानु परेरन भने सरसफाई शुल्क पनि कम हुन्छ’ संयोजक डाँगीले भने । यसले नगरबासिलाई थोरै भए पनि सहयोग पुग्ने छ । ‘दैनिक फोहोर उठाउन गाडी पठाइदिनुस भनेर खवर गर्नु भन्दा फोहोर छुट्टाएर राखे त्यो फोहोर खरिद गर्न आउनुस भन्न सक्नु पर्दछ यसले नागरिकर नगरपालिका दुबैलाई फाइदा पुग्ने छ,’ उनले भने । नगरपालिकाले थालेको यस प्रकारको योजना सफल बनाउन नगरवासीको सहयोग आवस्यक पर्ने छ ।