२०८१ बैशाख ७ गते शुक्रवार

यात्रुको चाप बढेपछि दाङ एयरपोर्टमा दैनिक दुईवटा उडान

दाङ, साउन २१ । दाङ एयरपोर्टमा भोलि (बुधवार) देखि दैनिक दुईवटा उडान हुने भएको छ । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई पत्र लेख्दै दैनिक दुईवटा उडान गर्न प्रस्ताव पठाएका छन् ।

यात्रुको चाप बढेको भन्दै श्रेष्ठले दैनिक दुईवटा उडान गर्ने प्रस्ताव गरेपछि त्यसलाई तुलसीपुर उपमहानगरपालिकाले पनि स्वीकार गरेको छ । नेपाल बायुसेवा निगम र तुलसीपुर उपमहानगरपालिकाको बीचमा २०७५ साल कार्तिक ३० गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ एयरपोर्टमा विमान उडानका सम्वन्धमा द्धपक्षिय सम्झौंता भएको थियो । त्यसयता दैनिक काठमान्डौं – दाङ– काठमान्डौं एउटा उडान हुँदै आएको थियो । तर साउन २२ गतेदेखि भने यात्रुको चापलाई मध्यनजर गर्दै दैनिक दुई र हप्तामा २४ वटा उडान गर्ने प्रस्ताव निगमले गरेको छ ।

उपनिर्देशक श्रेष्ठले नगरप्रमुख पाण्डेलाई लेखेको पत्रमा हाल निगमको केन्द्रिय कार्यालय, तुलसीपुरस्थित निगमको कार्यालय, विभिन्न ट्राभल एजेन्सिहरुमा टिकट खरिद गर्ने यात्रुको चाप बढ्दै गएको अवस्था उल्लेख गरेका छन् । ‘दैनिक एक उडानले यात्रुको चाप थेग्न असहज हुन थालेको र थप उडानको समेत माग बढ्दै गएको हुनाले उडान संख्या थप्न लागेका हौं,’ श्रेष्ठले भने ।

यसलाई नगरप्रमुख पाण्डेले जिल्लाबासीको लागि एउटा अवसर भएको बताए । ‘ निगमको प्रस्तावले हामी त निकै खुसी भएका छौं । विमान सेवा वन्द हुँदा कुनैदिन यात्रु पाईदैनन् भन्ने गलत हल्ला पैmलाइएको थियो । त्यो गलत थियो भन्ने आज प्रमाणित भएको छ,’ पाण्डेले भने ।

बन्द रहेको जिल्लाको एक मात्र टरिगाँउ विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाले पुनः संचालनमा ल्याएको थियो । टरिगाउँ विमानस्थलमा टर्मिनल भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

२०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

 

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *