दाङ, असार २ ।
प्यूठानमा खहरे खोलाले बगाएका दुई बालक मध्य एक जनाको शब फेला परेको छ । अर्का एक जनाको खोजी कार्य जारी छ ।
जिल्लाको नौबहिनी गाउँपालिका –५ का स्थानीय ७ बर्षीय बिमल खत्रीको शब फेला परेको छ । संगै बगेका १० बर्षीय मिलन खत्री बेपत्ता छन् । उनको खोजी कार्य जारी छ ।
जिल्लाको नौबहिनी गाउँपालिका –५ काँटेस्थित श्री जनता प्राथमिक बिद्यालय काँटेमा अध्यन पछि घर फर्किदै गर्दा उनीहरुलाई मंगलबार दिउँसो ३ बजेतिर जोगी पनेरा खहरे खोला तर्ने क्रममा बगाएको थियो ।
भेलले बगाएका दुई मध्य बिमल खत्रीको शब करिब दुई सय मिटर मुनी फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए । बेत्तपा मिलनको खोजी कार्य जारी छ । मृत अवस्थामा फेला परेका बिमलले कक्षा १ मा र बेपत्ता अवस्थाका मिलनले सोही बिद्यालयको कक्षा ३ मा अध्यन गर्थे ।
खहरे खोलाले दुई बालक बगाएको सूचना प्रहरीलाई बेलुकी साढे ६ बजेतिर वडा सदस्य कुलबहादुर खत्रीले दिएका थिए । त्यसपछि प्रहरी चौकी डार्मी बाट प्रहरी सहायक निरीक्षक हरिभक्त चौधरीको नेतृत्वमा दुई जना र इलाका प्रहरी कार्यालय लुङबाने बाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वको पाँच जनाको टोली खोजीको लागि खटिएको थियो ।
घटना स्थल प्रहरी चौकी डार्मीबाट करिब ६ किलोमिटर उत्तरमा पर्ने गर्छ ।
प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
