दाङ, जेठ ९ ।
रुकुम पश्चिमको आठबिसकोटमा भएको एउटा लुटपाटको घटनाको अनुसन्धान बाट गाडी चालक २५ बर्षीय महेश बिक आँफै फसेका छन् । यो घटनामा सवारी चालक महेश बिक आफैँ पीडित बनेर प्रहरीमा उजुरी लिएर गएका थिए । त्यसपछि प्रहरी अनुसन्धानमा जुटेको थियो । अनुसन्धान बाट उनै चालक महेश घटनाका मुख्य योजनाकार भएको तथ्य खुलेको हो ।
चलचित्रको कथा जस्तै लाग्ने त्यो लुटपाटको घटनामा अपराधको नाटक वास्तविक जीवनमा मञ्चन गर्ने प्रयास गर्दा एक जना सवारी चालक आफैँ प्रहरीको खोरमा पुगेका हुन ।
चालक महेशकै योजनामा नक्कली आक्रमण र ११ लाख ३५ हजार रुपैयाँ लुटपाट भएको खुलेको छ ।
प्रहरीको अनुसन्धान बाट चालक बिकको बदमासी र योजना सपना छताछुल्ल भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिप्रशाद पुनले बताए । प्रहरी निरीक्षक पुनका अनुसार यो घटना जेठ ५ गते राति साढे ९ बजेतिर घटेको थियो । जतिखेर आठबिसकोट नगरपालिका – १ राडीबाट खेततर्फ बा १३ च २१५७ नम्बरको डबलक्याप बोलेरो जिप यात्रु बोकेर जाँदै थियो ।
चालक, थिए, आठबिसकोट – १ फिलिङ्गेका २५ वर्षीय मुकेश बिक । एकाउक आठबिसकोट–२ तितेमिरे जंगलमा ४/ ५ जना नकाबधारी केटाहरूले बाटो छेके । उनीहरुले चालक बिक माथि कुटपिट गरे । गाडीमा चालकको सिट नजिकै रहेको झोलामा राखिएको ११ लाख ३५ हजार पनि लुटेर गए । प्रहरीका अनुसार चालक बिकले घटनाको बिवरणहरु सुनाउँदा सुरुमा त्यो घटना सामान्य लुटपाट जस्तै देखिएको थियो । तर, प्रहरीले एक पछि अर्कौ प्रश्न सोध्न थालेपछि चालक महेश आत्तिए ।
अनि कहानीमा बेग्लै ट्वीष्ट आयो । प्रहरी निरीक्षक पुनका अनुसार बिक नै त्यो लुटपाट घटनाको कथाका मुख्य योजनाकार भएको खुल्न आएको हो ।
आठबिसकोट नगरपालिका – १ का बासिन्दा तथा आठबिसकोटको नगर प्रहरी सहायक निरीक्षक खडक बुढाले आफ्नी श्रीमतीलाई दिनका लागि चालक मुकेश बिकको जिम्मा लगाई ११ लाख ३५ हजार नगद पठाएका थिए । त्यही पैंशाको लालचमा चालक बिकले आँफैले योजना बनाइ आँफै त्यो रकम लुटपाट गर्न लगाएको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरी निरीक्षक पुनले बताए ।
मुकेशले झारमारे भन्ने स्थानमा गाडकिा यात्रु नास्ता खान ओर्लेको समयमा फोन गरि आफ्ना साथीहरुलाई लुटपाटको नक्कली कथा मञ्चन गरेको तथ्य खुलेको छ । चालक बिककै योजना अनुसार गाडी आठबिसकोट –२ तितेमिरे जंगलमा पुगेपछि चालक बिक अगाडि अवरोध रहेको भन्दै हटाउन भनेर झरेका थिए । त्यही समय मुकुण्डो धारी चार युवा आएर उनीमाथि कुटपिट सुरु गरेका थिए । चालकका दुई मोवाइल खोस्नुका साथै गाडिमा चालक सिट नजिकै राखेको झोलापनि उनीहरुले लगेर गएका थिए ।
प्रहरीका अनुसार लुटिएको मध्य ११ लाख ३० हजार रकम बरामद भइ सकेको छ । पाँच हजार भने फेला परेको छैन । बिकको योजनामा लुटपाट गर्ने चार जना फरार छन् । उनीहरुको खोजी भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको पहिचान खुली सकेको छ ।
