
दाङ, बैशाख ३० ।
प्यूठानमा बुवा बितेको ११ दिन पछि छोरीपनि बितेकी छन् ।
जिल्लाको प्यूठान नगरपालिका– ९ पारपाखाका ४५ बर्षीय बुवा सानु नेपालीको बैशाख १९ गते र उनकी १८ बर्षीया छोरी अंजली नेपालीको बैशाख २९ गते मृत्यु भएको हो ।
यी बाबु छोरीको उपचारको क्रममा काठमाडौंको कीर्तिपुरस्थित वर्न हस्पिटलमा ११ दिनको अन्तरालमा मृत्यु भएको पूठानका प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए ।
बैशाख १३ गते राति सवा १० बजेतिर श्रीमति सुशिला नेपाली संगको सामान्ने बिबाद पछि सानुले घर बाहिर निस्किएर शरिरमा पेट्रोल छर्केर आँफैले आगो लगाएका थिए ।
छोरी अंजली बुवालाई बचाउन गएकी थिइन । उनका बुवा रिक्सा चलाउँथे । छोरी अंजलीले कक्षा १२ सम्मको पढाइ पुरा गरेकी थिइन ।
अटो चलाउने हुँदा सानुले जगेडाका लागि घरमै पेट्रोल राखेका थिए । बुवाले सोही पेट्रोल खन्याउँदै आगो लगाएपछि अंजली बुवालाई बचाउने प्रयास गरि रहेकी थिइन । ‘मलाई पनि पेट्रोल छर्केर मार्नुहोस बुवा’ भन्दै बुवा संग पेट्रोल खोसा खोस गर्ने क्रममा अंजलीलाई पनि आगो सल्किएको थियो ।
जलनमा परेका बाबु – छोरीलाई तत्कालै जिल्ला अस्पताल बिजुवार पुर्याइएको थियो । १४ गते बिहान साढे १२ बजेतिर छोरी अंजलीलाई मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । त्यसको केही बेरपछि १४ गते पौने २ बजेतिर सानुलाई पनि पाल्पा लगिएको थियो ।
१५ गते दिउँसो बाबु – छोरीलाई काठमाडौंको कीर्तिपुरस्थित वर्न हस्पिटलका लागि रिफर गरिएको थियो ।
सोही अस्पतालमा बैशाख १९ गते बुवाको मृत्यु भएको थियो । सोही अस्पतालमै बैशाख २९ गते छोरी अंजलीको पनि मृत्यु भएको हो ।
बुधबार अंजलीको शब प्यूठानमा ल्याएर अन्तेष्टि गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
श्रीमान – श्रीमति बीचको सामान्ने झगडाका कारण सानुले पेट्रोल छर्केर आँफै आगो लगाएको र त्यो आगो निभाएर बुवालाई जोगाउन प्रयासमा लाग्दा छोरी अंजलीको पनि मृत्यु भएपछि आफन्त र छर छिमेक शोकमा डुवेका छन् ।