
शरद रेग्मी तुलसीपुर , बैशाख २६ , ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रगाढ बनाउनुपर्ने बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उपाध्यक्ष शर्माले बहुमत प्राप्त नयाँ सरकार गठन भए सँगै निजी क्षेत्रमा नयाँ आशा पलाएको बताए ।
उनले तुलसीपुर क्षेत्र आर्थिक दृष्टिकोणले ठूलो सम्भावना बोकेको सहर भएको भन्दै यसको विकासका लागि व्यवसायीहरू उत्साहित हुनुपर्नेमा जोड दिए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले निजी क्षेत्र सफल भए मात्रै देश सफल हुने धारणा ब्यक्त गरे ।
उनले उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुफ्याउन विद्यमान ऐन कानुन बाधक रहेको भन्दै तीनै तहका सरकारले उद्योग मैत्री नीति बनाउनुपर्ने सुझाए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले व्यवसायीहरूले पटक–पटक विभिन्न आन्दोलनको मार खेप्नुपरेको भन्दै सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न आग्रह गरे ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले पछिल्लो समय देखिएको विषम परिस्थितिमा राज्यले उद्योगी व्यवसायीको संरक्षण र संवद्र्धनमा विषेध ध्यान नदिने हो भने भोलिका दिनमा अर्थतन्त्र झनै संकटमा पर्ने बताए ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले व्यवसायीले करको दायरा र यसको महत्वबारे सचेतना फैलाउन आवश्यक रहेको भन्दै राज्यलाई बुझाउनुपर्ने कर समयमै बुझाउनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा महासचिव केशवराज केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।